एमाले सरकार परिवर्तन गर्ने चलखेलमा लाग्योः अध्यक्ष नेपाल



काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रतिपक्षी दल सरकार परिवर्तन गर्ने चलखेलमा लागेको आरोप लगाएका छन् ।

अध्यक्ष नेपालले वर्तमान सरकारलाई हटाएर नयाँ सरकार बनाउन एमाले आक्रामक तवरले लागेको बताएका हुन् । पार्टीको सम्पर्क विभागले शुक्रबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भने, ‘समाजवादी र कम्युनिष्ट शक्तिलाई एकताबद्ध बनाउनुपर्नेमा सरकार परिवर्तन गर्ने चलखेल गरिरहेका छन्, ठूलो पार्टीले समाजवादी शक्तिलाई एकताबद्ध बनाउन चाहेन, उसले अहिले पनि दललाई प्रभावित पार्न खोजेको छ ।’


अध्यक्ष नेपालले समाजवादी शक्तिलाई एकताबद्ध बनाउने पहल आफूहरूले गर्दा एमालेलाई छटपटी भइरहेको दाबी गरे । उनले भने, ‘एउटा कम्युनिष्ट पार्टीका नेताले समाजवादी शक्ति बनाउँदा छटपटी भइरहेको छ ।’

उनले समाजवादी मोर्चाको नेतृत्व आफूले गरेको र आफ्नो पार्टीको अस्तित्व तथा शक्तिलाई सबैले स्वीकार गरेको दाबी गर्दै एकीकृत समाजवादीले नै अबको नेतृत्व गर्ने भन्दै प्रतिगमनको दिशामा गएको राजनीतिको कोर्ष आफूले नै बदलेको दाबी गरे ।