काठमाडौं। काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले उपत्यकाको पुलको चौडाइ सडकको जत्तिकै चौडाइमा पुल निर्माण गर्ने भएको छ। विगतमा सडकमात्रै विस्तार भएकामा अहिले सडकजत्तिकै चौडाइमा पुल विस्तार गर्न लागिएको हो। अधिकांश सडकमा सडक निर्माणको थोरैमात्रै काम बाँकी हुँदा पुल निर्माण अघि बढाउन लागिएको आयोजनाले जनाएको छ।
चावहिल–साँखु, जोरपाटी–सुन्दरीजल, कर्मनाशा खोला–गोदावरी, कलंकी–थानकोटलगायतका सडकमा पुल बनाइने आयोजनाका सूचना अधिकारी महानन्द जोशीले जानकारी दिए। थानकोट सडकमा बल्खु खोला, गोदावरीमा गोदावरी खोला, साँखुमा बागमतीसँगै मनोहरा र मनोमतामा पुल बनाउन लागिएको हो। उनले भने, ‘यी पुलमा निर्माणमा जाने क्रममा रहेका छन्।’
चावहिल–साँखु सडकमा यो वर्ष पुल निर्माणका लागि ठेक्का सम्झौता भएको थियो। दुईदेखि साढे दुई वर्ष अवधिका पुलहरू रहेको सूचना अधिकारी जोशीले बताए। उनले भने, ‘यो आवको ठेक्का भएर अहिले डिजाइन भइरहेको छ। अर्को वर्षमा पुल निर्माण हुनेछ।’
पहिले दुई लेनको पुल रहेकामा अहिले कम्तीमा चार लेन हुने आयोजनाले जनाएको छ। सडक नै कम चौडाइमा विस्तार भएका ठाउँमा पनि कम्तीमा सडकको चौडाइ बराबरको पुल बनाइने आयोजनाले जनाएको छ। निर्माण कम्पनी आफैँले डिजाइन गर्ने गरी डिजाइन एन्ड बिल्ड ठेक्कामार्फत निर्माण गर्न लागिएको हो। चावहिल–साँखु पुल निर्माण गर्न लागिएका तीन स्थानमध्ये सबैभन्दा बढी सवारी चाप नारायणटारको बागमती पुलमा रहेको छ।
उपत्यकाका यी सडकमा रहेको सवारी चाप व्यवस्थापनका लागि सडक विस्तार भए पनि पुल साँघुरो नै भएकाले तीनलाई समेत विस्तारको योजना बनाइएको हो। उपत्यकामा थप ठाउँमा सडक विस्तारको योजना नरहेकाले अहिले पुलको नै काम हुने उनले बताए। विगतमा निर्माणस्थल खाली नहुँदा सात–आठ वर्षसम्म पनि सडक सम्पन्न नभएकाले सरकारले तत्काल नयाँ सडकमा विस्तारको योजना बनाएको छैन।
पुल बन्दै भए पनि सडक सम्पन्न भएपछि बुझाइने आयोजनाले जनाएको छ। कुनै पनि सडक सम्पन्न भएपछि एक वर्षसम्म निर्माण कम्पनीले नै मर्मतको काम गर्ने र यसपछि सम्बन्धित डिभिजन सडक कार्यालयमा बुझाउने गरिएको छ। अहिले विस्तारका धेरै सडकमा निर्माण सकिएर मर्मत अवधि जारी रहेको छ।