काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले दक्षिण भारतीय चलचित्र ‘आदिपुरुष’ मा राखिएको ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द नसच्याएसम्म महानगरभित्र कुनै पनि हिन्दी चलचित्र चल्न नदिने घोषणा गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै मेयर बालेनले चलचित्रमा समावेश उक्त शब्द नेपालमा मात्र नभई भारतमा पनि सच्चिनुपर्ने अडान लिएका छन् ।उनले यी शब्द सच्याउनका लागि तीन दिनको समय दिइएको समेत घोषणा गरेका छन् ।
उनले लेखेका छन्, ‘दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द जबसम्म नेपालमा मात्र नभई भारतमा पनि सच्चिँदैन, तबसम्म काठमाडौं महानगरपालिकाभित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन । यो सच्याउन ३ दिनको समय दिइएको छ । माता सीताको जय होस् ।’