अख्तियारको टोली पशुपतिमा, सुनको जलहरी परीक्षण र नाप तौल गरिँदै



काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली सुनको जलहरी जोख्न पुगेपछि पशुपतिनाथ मन्दिर परिसर खाली गराइएको छ । मन्दिरको जलहरीमा प्रयोग भएको सुनको तौल कम भएको भन्दै परेको उजुरीमाथि अनुसन्धान गरिरहेको आयोगको टोलीले आइतबार सुनको जलहरी जोख्न लागेको हो ।

अख्तियारको टोली पुग्ने भएपछि दिउँसो मन्दिर परिसरमा कसैलाई प्रवेश गर्न दिइएको छैन । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सरकारको पालामा पशुपति मन्दिरमा जलहरी राखिएको थियो । महालेखा परीक्षकको प्रतिवेदनलेसमेत करिब ११ किलो सुन कम प्रयोग भएको भन्दै अनियमितता भएको बताएको थियो ।


यसबारे संसदीय समितिले पशुपति विकास कोषका पदाधिकारी बोलाएर सोधपुछसमेत गरेको थियो । यस विषयमा संसदमा समेत आवाज उठेको छ । नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले जलहरी प्रकरण छानबिन गर्न माग गरेपछि एमालेले एकदिन संसद अवरुद्ध गरेको थियो । पछि सांसद दाहालको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउने बताएपछि मात्र एमालेले संसद चल्न दिएको थियो ।