हाम्रो एक इन्च जमिन छोड्दैनौं, छिमेकीको इन्च जमिन चाहिँदैन : प्रधानमन्त्री दाहाल



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक इन्च पनि सीमा मिच्न नदिने बताएका छन् । 

प्रतिनिधिसभामा जारी प्रश्नोत्तरका क्रममा रघुजी पन्तले प्रधानमन्त्री भारत भ्रमणबारे गरेको प्रश्नको जवाफ दिँदै यस्तो कुरा बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले नेपालको भूमि एक इच पनि मिच्ने नदिने र नेपालले अरुको भूमि पनि एक इच पनि नमिच्ने बताएका हुन् ।


‘इपीजी रिपोर्टदेखि सीमा समस्यासँग सम्बन्धित विषयहरु र हाम्रो जमिनसँग विषयमा के कुरा प्रष्ट गरेका छौं भने हामी हाम्रो एक इन्च जमिन पनि छोड्न सक्दैनौं’, प्रधानमन्त्रीले भने, ‘हामीलाई छिमेकीको एक इन्च जमिन पनि चाहिँदैन । यो नीति अन्तर्गत नेपालका सबै राजनीतिक दलहरु र सम्मानित सदन एकमत छौं ।’

उनले आफ्नो आसन्न भारत भ्रमणका क्रममा नेपालको नेपालको राष्ट्रिय हित, राष्ट्रिय एकता, अखण्डता र स्वाधिनतामा कुनै किसिमको सम्झौता वा कुनै भ्रम पर्न नदिने विश्वास दिलाए ।

उनले आफ्नो भारत भ्रमणका क्रममा सोही मान्यताभित्र रहेर नै कुराकानी हुने पनि बताए । ‘इपीजी रिपोर्ट बुझ्ने वा नबुझ्ने र देशभित्र आएपछि के हुन्छ भन्ने कुरा भ्रमणमा गएर कुरा गरिसकेपछिको परिस्थितिमा मात्रै भन्न सकिन्छ । तर म के विश्वास दिलाउन चाहन्छु भने नेपालको राष्ट्रिय हित, राष्ट्रिय एकता, अखण्डता र स्वाधिनतामा कुनै किसिमको सम्झौता वा कुनै भ्रम पर्न दिइने छैन’, प्रधानमन्त्रीको भनाइ छ ।