सेवा प्रवाहमा भक्तपुर अस्पताल प्रदेशकै उत्कृष्ट



काठमाडौं । विसं १९६१ मा चन्द्रलोक डिस्पेन्सरीका नामबाट सुरु भएको वीर अस्पताल पछिको दोस्रो भक्तपुर अस्पताल यस वर्षको सर्वोत्कृष्ट अस्पताल घोषणा भएको छ ।

स्वास्थ्य मन्त्रालयको न्यूनतम सेवा मापदण्डमा अस्पतालको सेवा प्रवाहको अवस्था मूल्याङ्कन गर्ने क्रममा आएको सरकारी मूल्याङ्कन टोलीले गरेको मूल्याङ्कनअनुसार प्राप्त अङ्कका आधारमा भक्तपुर अस्पताल सबैभन्दा धेरै ९७ अङ्क प्राप्त गरी बागमती प्रदेशभित्रका अस्पतालमध्ये सर्वोत्कृष्ट बन्न सफल भएको हो ।


अस्पताल व्यवस्थापन सुदृढीकरणअन्तर्गत न्यूनतम सेवा मापदण्ड कार्यान्वयन कार्यक्रममा भक्तपुर अस्पताल बागमती प्रदेशकै उत्कृष्ट बनेको घोषणा गरिएको हो । साथै यो अस्पताल देशकै उत्कृष्ट अस्पतालमध्ये अग्रपङ्क्तिमा उभिन सफल भएको घोषणा गरिएको हो ।

अस्पतालको स्थलगत अवलोकन र तीन दिन लगाएर गरिएको मूल्याङ्कनमा भक्तपुर अस्पतालले ९७ अङ्क प्राप्त गरी उत्कृष्ट नतिजा निकालेको बागमती प्रदेशका स्वास्थ्य निर्देशनालयका निर्देशक महेश्वर श्रेष्ठले बताए ।

अस्पताल व्यवस्थापन सुदृढीकरणअन्तर्गत न्यूनतम सेवा मापदण्ड कार्यान्वयन कार्यक्रममा स्वास्थ्य मन्त्रालयका प्रतिनिधि डा. पवन साह, कान्ति बाल अस्पतालका नर्सिङ प्रमुख रोशनी तुइतुइ, स्वास्थ्य विभागका मिरा निरौला लगायतको मूल्याङ्कन टोलीको मूल्याङ्कनमा यस अस्पतालले उक्त अङ्क प्राप्त गरेको हो ।

भक्तपुर अस्पतालमा आयोजित कार्यक्रममा मूल्याङ्कन समितिले तयार पारेको नतिजा सार्वजनिक गर्दै सो अस्पताल वागमती प्रदेशमै उत्कृष्ट अस्पताल बन्न सफल भएको घोषणा गरिएको हो । स्वास्थ्य निर्देशनालयका निर्देशक श्रेष्ठले भक्तपुर अस्पतालको उपस्थितिले उपत्यकामा प्रदेश सरकारको प्रतिनिधित्व मात्र नभई यहाँको सेवाले देशकै शिर उँचो बनाएको बताए ।