सन्दीपविरुद्ध मुद्दाको अन्तिम फैसला गर्न न्यायाधीश राईको इजलासमा पेसी



काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध मुद्दाको अन्तिम फैसला गर्न सर्वोच्च अदालतका न्यायाधीश शंकरबहादुर राईको इजलासमा पेसी तोकिएको छ । आज (मंगलबार) सुनुवाइ पेसी सूचीको सातौँ नम्बरमा रहेको छ ।

यसअघि, न्यायाधीश फणीन्द्र पराजुलीको इजलासमा अन्तिम सुनुवाइका लागि पेसी तोकिएको थियो । त्यति बेला लामिछानेका कानुन व्यवसायीले पीडितको उमेरको विवादमा पेस गरेको जन्ममितिसम्बन्धी प्रमाण पुनः झिकाउन अदालतबाट आदेश भएको थियो ।


लामिछानेका कानुन व्यवसायीले सुरुदेखि नै जाहेरवालाको जन्ममितिलाई मूल मुद्दाका रूपमा प्रस्तुत गर्दै बहस गरिरहेका छन् । जाहेरवालाको नागरिकतामा उल्लेख जन्ममितिअनुसार उनी नाबालिग हुन् ।

तर, लामिछानेका कानुन व्यवसायीले शैक्षिक प्रमाणपत्र र जन्मदर्तामा उल्लेख भएको जन्ममितिअनुसार जाहेरवाला बालिग रहेको जिकिर गरिरहेका छन् । मुद्दामा यही विषयको टुंगो लागेको छैन । सोही कारण पटक–पटक अन्तिम सुनुवाइका लागि पेसी तोकिए पनि स्थगित हुँदै आएको छ ।

लामिछानेविरुद्ध नाबालिगमाथि बलात्कार अभियोगमा मुद्दा चलिरहेको छ । गत वर्ष भदौ ५ गते पटक–पटक बलात्कार गरेको आरोपमा भदौ २१ गते उनीविरुद्ध जाहेरी दर्ता गरिएको थियो ।