वनकालीमा आज पार्थिव शिवलिंगको पूजाआजा हुने



काठमाडौं । मानश तथा बोलबम परिवार, जनकपुरधामको आयोजनामा आज बिहीबार पशुपति वनकालीस्थित हंशमण्डपमा दिनभर पार्थिव शिवलिङ्ग पूजाआजा हुने भएको छ ।

स्वदेश तथा विदेशमा समेत धार्मिक अनुष्ठान गर्दै आएको बोलबम परिवार नामक संस्थाले जनकपुरबाट ल्याएको माटोले पशुपतिनाथ परिसरमा शिवलिङ्ग बनाई पाठ, पूजा, हवन गर्न लागेको हो ।


संस्थाका अध्यक्ष ललन ठाकुरले बनारसबाट झिकाइएका पण्डितसहित स्वदेशस्थित मधेसी र पहाडी ब्राह्मणको संलग्नतामा चण्डी र रुद्री पाठसहित हवन हुने धार्मिक अनुष्ठानमा ठूलो सङ्ख्यामा भक्तजनको उपस्थिति हुने जानकारी दिए ।

सो संस्थाले यसअघि २०७४ सालमा जनकपुरको रङ्गभूमि बाह्रबिघामा एकैदिन दश हजार भक्तजनको उपस्थितिमा पार्थिव शिवलिङ्ग पूजाआजा गरेको थियो ।