काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आफूले घुस नखाँदा र नखुवाउँदा पापीहरू बौलाउन थालेको बताएका छन् ।
आइतबार सामाजिक संजालमार्फत मन्त्री किरातीले त्यसको प्रमाण भए आफू पदमा एक मिनेट पनि पदमा नबस्ने बताएका हुन् । उनले भनेका छन्, ‘मैले घुस नखाँदा र नखुवाउँदा पापीहरु बौलाउन थाले, आखिरी म मर्दा ५ सयको कात्रो र ५ फिट जमिन चाहिएला ! प्रमाणित गर म एक मिनेट बस्दिन…।’
पछिल्लोपटक संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पशुपति विकास कोषको अतिक्रमण गरिएको ३१ रोपनी जग्गालाई वैधता दिने निर्णय गरेको बताइएको छ । उक्त जग्गाको बजारमूल्य अर्बौ पर्ने बताइन्छ ।
अपचलन भएको कोषका नाममा रहेको कागेश्वरी मनोहरा नगरपालिमा पर्ने साबिक गोठाटारमा रहेको ५३५ रोपनी ३ आना जमिनमध्ये ३१ रोपनी जमिन अतिक्रमण भएको अध्ययनमा देखिँदादेखिँदै जग्गा खोजी नगरी किरातीले हालसाविक गर्ने निर्णय गरेको समाचार सार्वजनिक भएपछि उनले सामाजिक संजालमार्फत आक्रोश पोखेका हुन् ।
अतिक्रमण गरेको जमिन खोजेर फिर्ता ल्याउनुपर्नेमा पशुपति क्षेत्र विकास कोषका अध्यक्षसमेत रहेका पर्यटनमन्त्री किरातीले त्यसलाई हालसाविक गर्ने निर्णय गरे पछि आलोचना भएको छ ।