मेक्सिकोमा लागू औषध तस्कर र सुरक्षाकर्मीबीच झडप, १० जना मारिए



मेक्सिकोमा लागू औषध तस्कर र सुरक्षाकर्मीबीच भएको गोली हानहानमा १० जनाको मृत्यु भएको छ । उत्तरी मेक्सिकोको सुरक्षाकर्मी माथि बन्दुकधारीको एक समूहले गोली प्रहार गरे पछि जवाफी कारबाही हुँदा १० जना मारिएका हुन् ।

मेक्सिको सिभिल फोर्सका सुरक्षाकर्मी सवार तीनवटा बख्तरबन्द ट्रकमा यात्रा गरिरहेका बेलामा अचानक बन्दुकधारी समुहले गोली प्रहार गरेका थिए । मेक्सिकोका सुरक्षा सचिव गेरार्डो पालासियोसका अनुसार त्यसपछि सुरु भएको दोहोरो झडपमा आपराधिक समूहका १० जना मारिएका हुन् । उनले दोहोरो झडपमा परी सिभिल फोर्सका चार जना सुरक्षाकर्मी घाइते भएको बताए ।


आक्रमण हिंसा प्रभावित क्षेत्र मानिने न्यूभो लियोन र तामाउलिपास राज्यका राजमार्गमा भएको हो । उक्त राजमार्गमा बेलाबेलामा अपहरण र लुटपाटका घटना हुने गरेको सुरक्षा सचिव पालासियोसले बताए ।

मेक्सिको सरकारले सन २००६ देखी लागू औषध विरोधी अभियान सुरु गरेयता मात्रै तीन लाख भन्दा बढी तस्करको हत्या भइसकेको छ । सो घटनामा पनि लागू औषध तस्करको सङ्गठित आपराधिक गिरोह हुन सक्ने मेक्सिको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सो घटनाका बारेमा थप छानबिन भइरहेको छ ।