काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभा बैठक अवरोध गरेपछि माओवादी केन्द्रले संसदलाई व्यवस्थित ढंगबाट अगाडि बढाउन सहयोग गर्न आग्रह गरेको छ ।
एमालेको अवरोधपछि नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सार्वभौम संसदमा सबैले आ–आफ्नो कुरा राख्न पाइने बताएका हुन् । ‘भ्रष्टाचार भइरहेको विषयलाई छानबिन गर्नुपर्ने हुन्छ’ उनले भने, ‘सरकारले आफ्नो कुरा राख्छ । आज प्रधानमन्त्रीले जवाफ दिने कार्यक्रम छ । उहाँले आफ्नो कुरा राख्नुहुन्छ ।’
शुक्रबारको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले पशुपतिमा जलहरीमा भ्रष्टाचार भएको बताएका थिए । त्यसलगत्तै एमाले सांसदहरुले संसद अवरोध गरेका छन् । एमाले अवरोद्धका कारण बैठक २० मिनेटका लागि स्थगित गरिएको छ ।