भारत छत्तीसगढमा सडक दुर्घटना हुँदा एकै परिवारका ११ जनाको मृत्यु



काठमाडौँ- भारतको छत्तीसगढ राज्यमा भएको सडक दुर्घटनामा ११ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी मृत्यु हुनेमा पाँच महिला, चार पुरुष र दुई बालबालिका छन् । दुर्घटनामा एक जना गम्भीर घाइते भएका स्थानीय प्रहरी अधिकारीले बताएका छन् ।

बालोदका प्रहरी उपरीक्षक जितेन्द्रकुमार यादवले भने, “बलोद जिल्लाको जगतरा क्षेत्रमा ट्रक र कार एकआपसमा ठोक्किँदा ११ जनाको मृत्यु भएको छ भने एक बालक गम्भीर घाइते भएका छन् । घाइते बालकलाई राज्यको राजधानी रायपुरको एक अस्पतालमा उपचारका लागि पठाइएको छ ।”


छिमेकी जिल्लामा भएको एक विवाह समारोहमा सहभागी भएर घर फर्कने क्रममा उक्त दुर्घटना भएको हो ।

उनीहरुको कार विपरीत दिशाबाट आइरहेको ट्रकसँग ठोक्किएर दुर्घटना भएको यादवले बताए । दुर्घटनापछि कारको अधिकांश भागमा क्षति भएको छ ।

स्थानीय प्रहरी अधिकारीका अनुसार मृतक सबै एकै परिवारका सदस्य हुन् ।