काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड दुई महिनामै मुटु प्रत्यारोपण गर्न हिँडेको टिप्पणी गरेका छन् ।
आइतबार प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथि छलफलमा सहभागी हुँदै अध्यक्ष ओलीले एमालेलको निर्णायक पहलमा रास्वपा, जनमत, राप्रपा, नागरिक उन्मुक्ति र स्वतन्त्र सांसदको पहलमा १० पुसमा प्रधानमन्त्री बने पनि दुई महिनामै प्रधानान्त्री मुटु प्रत्यारोपणमा लागेको टिप्पणी गरेका हुन् ।
उनले भने,‘प्रधानमन्त्रीज्यू दुई महिना नपुग्दै मुटु प्रत्यारोपणमा लाग्नुभयो । नेतृत्व उहाँकै भएकाले नीति तथा कार्यक्रम प्रस्तुति सुनेँ, पढेँ । के तार्गेटहरू मिट गर्न आएको छ ? मैले खोजी गरें। कार्यान्वयनको मोडालिटी र ढाँचा कसरी तय भएको रहेछ ? अध्ययन गरें।’
उनले नीति तथा कार्यक्रममा सरकारले देश असामान्य अवस्थामा रहेको यथार्थलाई लुकाउन खोजेको आरोप लगाए । उनले भने, ‘लुकाउन मात्र होइन, रोम जलिरहेछ निरो बाँसुरी बजाइरहेछ ।’
अध्यक्ष ओलीले सरकारले ल्याउको नीति तथा कार्यक्रम कर्मकाण्डी दस्तावेज भएको टिप्पणी गरे । उनले नीति तथा कार्यक्रममा सरकार प्रर्णरुपमा चुकेको र असफल भएको स्पष्ट देखिएको बताए ।
उनले भने,‘संविधानले प्रत्याभूत गरेको रोजगारी, आवास लगायतका मौलिक हकहरु र राज्यका निर्देशक सिद्धान्तहरुलाई आधा मानेर नीति कार्यक्रम प्रस्तुत गर्न सरकार पूर्ण रुपमा चुकेको छ। असफल भएको छ।’