काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईविरुद्धको रिट सर्वोच्च आदालत प्रशासनले दर्ता गर्न अस्वीकार गरेको छ ।
काभ्रेपलाञ्चोकका पूर्व बालसेना लेलिन विष्टले दर्ता गर्न लागेको रिट सर्वोच्चका रजिष्टार नारायणप्रसाद पन्थीले जेठ १६ गते दरपीठ गरेका हुन् । नेकपा (माओवादी केन्द्र) को दशक लामो सशस्त्र द्वन्द्वकालका बालसेनाहरूको योगदानको अवमूल्यन गरेको भन्दै उनी रिट लिएर सर्वोच्च गएका थिए ।
पूर्व बालसेनाहरू लेनिन विष्ट, कृष्णप्रसाद दंगाल, रामेश्वर खड्का, शोभा रायमाझी, तुलसी नेपाल, सागरकुमार चौहान, मदन राई, राजन तामाङ र खेमबहादुर राईको रिट सर्वोच्चले दर्ता गर्न नमानेको हो ।
द्वन्द्वकालका घटना नियमित अदालतबाट नभई संक्रमणकालीन न्याय संयन्त्रले सम्बोधन गर्न उपयुक्त हुने भन्दै रजिस्ट्रार नारायणप्रसाद पन्थीले रिट दर्ता नहुने आदेश दिएका हुन् ।