‘पपुलिस्ट पोलिटिक्स’ गर्नेहरुले समाजलाई द्वन्द्वात्मक चेतनाबाट विमुख बनाएः महासचिव पोखरेल



काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले उद्देश्य विहीन पपुलिस्ट कुरा गर्नेहरु र छोएरै उपचार गर्छु भनेर भिड जम्मा गर्ने सिमान्त गुरुमा केही अन्तर नभएको बताएका छन् ।

सोमबार सामाजिक संजालमार्फत महासचिव पोखरेलले पुरानो होइन नयाँ भनेर नीति विहीन, उद्देश्यविहीन पपुलिस्ट पोलिटिक्स गर्नेहरुले ठिक र वेठिक छुट्याउने द्वन्द्वात्मक चेतनावाट समाजलाई विमुख वनाइरहेका बताएका हुन् ।


उनले भनेका छन्,‘पुरानो होइन नयाँ भनेर नीति विहीन, उद्देश्यविहीन पपुलिस्ट पोलिटिक्स गर्नेहरुले ठिक र वेठिक छु्ट्याउने द्वन्द्वात्मक चेतनावाट समाजलाई विमुख बनाइरहेका छन् । यसरी उद्देश्य विहीन पपुलिस्ट कुरा गर्नेहरु र छोएरै उपचार गर्छु भनेर भिड जम्मा गर्ने सिमान्त गुरुमा के अन्तर भयो र ? दुवैथरी जनताको निरासको लाभ लिन खोजिरहेका छन् । यस्तो अवस्थामा सत्यलाई स्थापित गर्न कठिन भयो भनेर सत्यको मार्ग छोड्नु हुँदैन ।’

उनले नीति तथा कार्यक्रममा सरकार चुकेको बताएका छन् । उनले भने,‘कहाँ चुकेको छ सरकार ? नीति तथा कार्यक्रमले के कुरालाई सम्बोधन गर्नु पर्दथ्यो भन्ने कुरामा विपक्षी दलका नेताले तथ्यगत रुपमा आफूलाई प्रस्तुत गर्दा पनि गफ ठान्ने जमातले नबोलिकन राष्ट्रलाई डुवाउने देउवा र खुलेआम लुट मच्चाएर शान्ति प्रकृयाको दुहाई दिने प्रचण्डको पैरवी गर्नु कुनै अनौठो कुरा होइन ।’