नक्कली भुटानी शरणार्थी प्रकरणमा मेरो कुनै संलग्नता छैन : पूर्व गृहमन्त्री खाँण



काठमाडौं । पूर्व गृहमन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेका छन् ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने गिरोहको एकपछि अर्को गर्दै पर्दाफाँस हुँदै गर्दा उनको पनि नाम गाँसिन पुगेको छ । यस प्रकरणमा मन्त्रालयको सचिव परिवर्तन गरी आफू अनुकूल व्यक्तिलाई ल्याएको एवं पक्राउ परेका धेरैसँग उठवस रहेको आरोप पनि उनीमाथि लगाइएको छ ।


तर शनिबार एक विज्ञप्ति जारी गर्दै नेता खाँणले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफू संलग्न नरहेको स्वष्टीकरण दिएका छन् । उनले आफ्नो चरित्रहत्या गर्ने काम नगर्न पनि विज्ञप्तिमार्फत नै आग्रह गरेका छन् । खाँणले शनिबार विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘आधारहीन, तथ्यहीन र संलग्न हुँदै नभएका घटनामा संलग्न भयो भन्दै र जाँदै नगएका स्थानमा भ्रमणमा गएको भन्ने समाचारले अन्योल उत्पन्न हुने र व्यक्तिगत चरित्र हत्या हुने हुँदा यस्ता समाचार सम्प्रेषित नगरी दिनु हुन अनुरोध छ ।’

Khad Bigyapti