रेसुङ्गा । गुल्मीमै बाङ्गाटिङ्गा हातखुट्टाको उपचार हुन थालेको छ । रेसुङ्गा नगरपालिकाको पहलमा गुल्मी अस्पतालमा यो सेवा शुभारम्भ भएको हो । सेवाग्राही टुमाराम गिरी जिल्लामै उपचार पाएपछि खुसी भएका छन् । उनले यही उपचारका लागि पाल्पा, बुटवल र काठमाडौँ जाने बाध्यता रहेकामा हाल नगरपालिकाले अस्पताललाई सहयोग गरेपछि उपचार गर्न सजिलो भएको बताए ।
साथै सेवाग्राही जिवकला नेपालीले जन्मजात समस्या देखिएपछि पिरलोमा परेको बताइन् । सहज उपचारपछि उनी राहात मिलेको अनुभूति भएको बताउँछिन् । उनीहरु मात्र होइन, गुल्मी अस्पतालबाट हाल औसतमा दैनिक ६० देखि ७० बिरामीले हाडजोर्नीको उपचार गराउँदै आएका छन् । यसमा पाँचदेखि सात जनाले जन्मजात हातखुट्टा बाङ्गाटिङ्गा समस्याको उपचार गराएका छन् । हातखुट्टा बाङ्गाटिङ्गाको सहज उपचार जिल्लामै सम्भव रहेको हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा प्रदीप शिवाकोटीले बताए ।
उनले हाडजोर्नीको समस्या हुँदा अब उपचारका लागि टाढा जान नपर्ने बताएका छन् । नागरिकको स्वास्थ्यलाई ध्यानमा राखेर काम गरिरहेको रेसुङ्गा नगरपालिका प्रमुख खिलध्वज पन्थीले बताए । ‘हाडजोर्नीको समस्या हुँदा पाल्पा जानुपर्ने अवस्था थियो’ उनले भने, गुल्मी अस्पतालमै उपचार पाएपछि गुल्मेली नागरिकलाई राहात मिलेको छ ।’ नगरपालिकाले गुल्मी अस्पताललाई मिर्गौला डायलाइसिस मेसिन प्रदान गरेको छ ।