गण्डकीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत



पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत प्राप्त गरेका छन् । बिहीबार बसेको प्रदेशसभा बैठकमा उनले विश्वासको मतको प्रस्ताव पेस गरेका थिए । उनको पक्षमा ३५ मत प्राप्त भएको छ ।

कांग्रेसका २७, माओवादीका ७ र स्वतन्त्र सांसदको गरी ३५ मत प्राप्त गरेका हुन् । यस्तै, उनको विपक्षमा एमालेको २२ र तटस्थ राप्रपाको २ मत रहेको छ । संसद्मा ५९ जना सांसदको उपस्थिति रहेको थियो । सभामुख कृष्णप्रसाद धितालले पाण्डेले बहुमतले विश्वासको मत प्राप्त गरेको बताए ।


पाण्डे माओवादी केन्द्र र स्वतन्त्र सांसदको समर्थनमा गत बिहीबार मुख्यमन्त्री नियुक्त भएका थिए । संविधानको धारा १६८ को उपधारा २ बमोजिम नियुक्त भएका पाण्डेले उपधारा ४ बमोजिम विश्वासको मत लिएका हुन् । सरकारलाई बहुमत प्राप्त गर्नको लागि ३१ सिट आवश्यक पर्दछ । पाण्डेले विश्वासको मत लिएपछि गण्डकीमा मन्त्रिपरिषद् विस्तार गरिने सचिवालयले जनाएको छ ।

पाण्डे मुख्यमन्त्री नियुक्त भएपछि तीन सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेका थिए । सत्तारुढ दलबीच मन्त्रालयको भागबण्डामा सहमति नजुट्दा मन्त्रिपरिषद्ले पूर्णता नपाएको स्रोतले जनाएको छ । सत्ता गठबन्धनको केन्द्रीय बैठकले नै मन्त्रालयको टुंगो लगाउने दलहरूले जनाएका छन् ।