मनाङ । हिमाली जिल्ला मनाङमा केन्द्रीय विद्युत् प्राधिकरण लाइनसँग जडान हुने गरी विद्युत् उत्पादन भएको छैन ।
जुनकिरीझैँ आफ्नै उत्पादनमा आत्मनिर्भर हुँदै लघुजलविद्युत्मार्फत उज्यालो बनेको मनाङ बाढीपहिराले अँध्यारोमा धकेलियो ।
मनाङमा सञ्चालित १३ वटा लघुजलविद्युत्को संरचना नै भत्किँदा अँध्यारोमा पुगेका स्थानलाई हालसम्म पनि उज्यालो बनाउन सकिएको छैन ।
मनाङका केही स्थान लघुजलविद्युत्को भरमा अहिले पनि चलिरहेका छन् । बाढीपहिराले क्षति पुगेका केही लघुजलविद्युत्का संरचना हालसम्म पनि निर्माण तथा मर्मत हुनसकेका छैनन् ।
निर्माण व्यवसायीले भीमताङ लघुजलविद्युत् आयोजनाको मर्मत तथा निर्माणका लागि सामग्री ल्याएर बाटोमा अलपत्र छाडिएको समाजसेवी चेकमान गुरुङले जानकारी दिए ।
‘सामग्री ल्याएको छ, काम भने हुनसकेको छैन, ठूला जलविद्युत् निर्माणका सामग्री पनि केही ल्याएको छ तर काम आंशिकमात्र भएका छन्’, गुरुङले भने, ‘कहिले होला खै उज्यालो मनाङ हुने ?’
मनाङमा समयको प्रतिकूलताले गर्दा विद्युत् आपूर्तिमा समस्या आइरहने क्षेत्रमा पर्छ । यहाँका विद्युत्, टेलिफोनलगायतका अत्यावश्यकीय वस्तुको ढुवानी हुनसमेत समस्या हुने स्थान भएकाले समयको अनुकूलता तथा प्रतिकूलताको ध्यान दिएर काम गर्न सकेमा स्थानीयवासीका साथै पर्यटकलाई सहज हुने उनले बताए ।
त्यस्तै नासों गाउँपालिका–८ स्थित सोदीखोला लघुजलविद्युत् आयोजना बाढीपहिराबाट क्षति पुगेपछि हालसम्म पनि सञ्चालन हुनसकेको छैन । जनप्रतिनिधि तथा बुद्धिजिवीले पटक–पटक दबाब दिँदासमेत यस आयोजनाको काम हुन नसक्नु दुःखद् भएको नासों गाउँपालिका अध्यक्ष धनबहादुर गुरुङले बताए ।
‘यस आयोजना भत्किएका भाग निर्माण तथा मर्मत गर्न सके सहज हुन्थ्यो, तर पटक–पटक ताकेता गरे पनि काम गर्न सकिएको छैन’, उनले भने । बाढीले क्षति पुर्याएको लघुजलविद्युत् मर्मतमा स्थानीयले श्रमदान गरी केही चल्न थालेका छन् ।
केही न सामग्री ल्याउन सकेका छन्, न त कामदारले काम गर्न नै सकेका छन् । ग्रामीण क्षेत्र भएकाले पनि सामग्री ढुवानीमै समस्या हुँदासमेत ढिलाइ भएको हुनसक्ने स्थानीयको बुझाइ छ ।
मनाङ पहिलोपटक वि.सं २०७७ मा केन्द्रीय प्रसारण लाइन जडान भयो । केन्द्रीय प्रसारण लाइनको विद्युत् जडान भएको एक वर्ष नपुग्दै वि.सं २०७८ जेठ १४ देखि हिमाली जिल्ला मनाङमा बाढीपहिराको विपद्मा पर्यो ।
केन्द्रीय प्रसारण लाइन सरकारी कार्यालयमा मात्रै जडान भएकामा बाढीपहिराले विच्छेद गरायो । त्यसयता यहाँका मानिस अँध्यारोमा नै बस्न बाध्य भएका छन् ।
सङ्घीयता कायम भएसँगै गण्डकी प्रदेश सरकारका पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशलाई उज्यालो बनाउने घोषण गरेका थिए । पूर्वमुख्यमन्त्री गुरुङले घोषणा गरेपछि सुगम मानिने जिल्ला पनि खासै उज्यालो बन्न सकेन ।
पूर्वमुख्यमन्त्री गुरुङले छिमेकी जिल्लाकै भएकाले मनाङलाई विशेषरूपमा विद्युत् प्रवाहका लागि व्यवस्थापन गर्नुहुन्छ भन्ने मनाङवासीको अपेक्षा भने पूरा हुन सकेन ।
केही सरकारी कार्यालयमा मात्रै जडान गरिएको थियो । तर स्थानीयवासीको घर–घरमा विद्युत् जडान हुनुअगावै बाढीपहिराले क्षति पुगेर आयोजना नै सङ्कटमा पुग्यो । उज्यालो प्रदेश घोषणा गरिएपश्चात केन्द्रीय प्रसारण लाइनको विद्युत्बाट घर–घरमा उज्यालो छाउने अपेक्षा गरेका मनाङ्वासी अहिलेसम्म अँध्यारोमा बस्न बाध्य भएका छन् ।
मनाङका कतिपय पर्यटन तथा होटल व्यवसायीले त व्यक्तिगत लगानीमा लघुजलविद्युत् आयोजना सञ्चालन गरी आफूलाई आवश्यक विद्युत् आपूर्ति गर्ने गरेका छन् ।
सरकारले कहिले ल्याइदिन्छ भनेर बस्नुभन्दा सकेको आफैँबाट सुरुआत गर्नुपर्छ भन्ने भावनाले यसरी जलविद्युत् सञ्चालन गरिएको भुजुङ गुरुङले बताए ।
मनाङ ङिस्याङ गाउँपालिका–८ का वडाध्यक्षसमेत रहेका भुजुङले आफूलाई मात्रै नभई वरपरका स्थानीयवासीलाई समेत विद्युत् प्रवाह गर्ने व्यवस्था गरेका छन् । आफूलाई खपत भएको विद्युत्बाहेक बाँकी स्थानीयवासीलाई वितरण गर्दै आएको उनले बताए ।
अँध्यारो मनाङलाई तिलिचो तालसम्म उज्यालो बनाउने उद्देश्यले पोल र तार टाङने काम भने भइरहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । तिलिचोसम्म कहिलेसम्म बिजुली पुगेर उज्यालो बन्छ भन्ने यकिन भने छैन ।