काठमाडौं। आर्थिक बर्ष २०८०/८१ को बजेट आज सार्वजनिक हुँदैछ। संघीय संसद भवन बानेश्वरमा बस्ने बैठकमार्फत सो बजेट सार्बजनिक हुन लागेको हो। बैठक दिउँसो ४ः१५ बजे बोलाइएको छ।
अर्थमन्त्री डा.प्रकाशशरण महतले आज बस्ने संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्नेछन् । सरकारले आगामी आर्थिक वर्षका लागि तोकिएको सीमाभित्रै रहेर १७ खर्ब हाराहारीको बजेट ल्याउने तयारी गरेको छ ।
बजेटसँग चारवटा विधेयक हुन्छन् । जसमा विनियोजन विधेयक, आर्थिक विधयेक, राष्ट्र ऋणसम्बन्धी विधयेक र ऋण तथा जमानत विधयेक छन् । यी विधयेकको सारांश र महत्वपूर्ण विषय समावेश गरी बजेट भाषण गरिन्छ । आज सार्वजनिक हुने बजेट कार्यान्वयन भने साउन १ गतेदेखि हुन्छ ।
आगामाी आर्थिक वर्षका लागि बजेट निर्माण भएको हो । तर आर्थिक विधेयकमा आएको भन्सारसँग सम्बन्धित करका दर भने यही १६ गतेदेखि लागू हुन्छ । करका दर हेरफेर हुने समय भएकाले आइतबार राति १२ बजेदेखि सबै भन्सार नाका बन्द गरिएका छन् । २४ घण्टाका लागि नाका बन्द गरिएको हो ।
नयाँ संविधान जारी भए पछि हरेक गणतन्त्र दिवसका दिन अर्थात् जेठ १५ गते नयाँ बजेट सार्वजनिक गर्दै आइएको छ। यो संबैधानिक बाध्यता भएकाले पनि सरकारले आजैका दिनमा बजेट सार्वजनिक गर्न लागेको हो।
बजेट सार्वजनिक गर्ने कार्यक्रममा प्रधानमन्त्री, मन्त्रिपरिषदका सदस्य, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, गभर्नरलगायतको सहभागिता रहने प्रचलन छ।