अस्ट्रेलियामा लागुऔषधकाे कारण दैनिक पाँच जनाको मृत्यु



युनिभर्सिटी अफ न्यू साउथ वेल्स (एनएसडब्ल्यू सिड्नी) का विज्ञहरूको प्रारम्भिक अनुमानअनुसार सन् २०२१ मा दैनिक पाँच जना अस्ट्रेलियाली नागरिकको औषधिको ओभरडोज र अन्य कारणले मृत्यु भएको छ ।

बिहीबार प्रकाशित रिपोर्टअनुसार सन् २०२१ मा अस्ट्रेलियामा एक हजार सात सय ८८ जनाको लागुऔषधका कारण मृत्यु भएको थियो । यो सङ्ख्या उक्त वर्ष अस्ट्रेलियामा दर्ता भएका मृत्युको झन्डै एक प्रतिशत हो ।


उक्त अवधिमा अस्ट्रेलियामा प्रत्येक एक लाख जनसङ्ख्यामा ६।९ जनाले लागुऔषधका कारण ज्यान गुमाएका थिए ।

सन् २०२१ मा लागुपदार्थका कारण हुने मृत्युमध्ये ६३ प्रतिशत पुरुषमा भएको थियो भने ४५ देखि ५४ वर्ष र ३५ देखि ४४ वर्ष उमेर समूहका मानिसमा लागुपदार्थका कारण हुने मृत्युको ठूलो हिस्सा थियो ।

सन् २०२१ लागुऔषधको बढी प्रयोगका कारण हुने मृत्युमा सबैभन्दा बढी हेरोइन र ‘फार्मास्युटिकल ओपिओइड’ सँग संलग्न घटनाहरू भेटिएका छन् । यसका कारण कूल एक हजार आठ व्यक्तिको मृत्यु भएको थियो भने त्यसपछि ‘एन्टिपिलेप्टिक’ र ‘एन्टी–पार्किन्सनिज्म’ औषधिहरू थिए ।

उक्त प्रतिवेदनले लागुऔषधका कारण हुने मृत्युमध्ये ७६ प्रतिशत घरमै भएको, ६८ प्रतिशतले नजानेर र २७ प्रतिशतले जानाजानी गरेको उल्लेख गरेको छ ।

“सन् २००२ देखि लागुपदार्थका कारण हुने मृत्युदर प्रतिवर्ष औसतमा ३।५ प्रतिशतले बढेको छ र सन् २०१७ मा प्रति एक लाख अस्ट्रेलियालीमा आठ जनाको मृत्युभएको थियो,” ड्रग ट्रेन्ड रिसर्च प्रोग्रामकी प्रमुख तथा एनएसडब्ल्यू सिड्नीकी एसोसिएट प्रोफेसर एमी मयुरले भने ।

उक्त प्रतिवेदनले सन् २००२ देखि २०२१ सम्म अस्ट्रेलियामा लागुपदार्थका कारण भएका सबै मृत्युका बारेमा निष्कर्ष प्रस्तुत गरेको छ ।