काठमाडौं । कलेज अफ जर्नालिज्म एण्ड मास कम्युनिकेसन र विलक्षण क्रिएसन प्रालिको संयुक्त आयोजनामा काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा नेपाल अफ्रिका चलचित्र महोत्सव २०२३ को एघारौं संस्करण आगामी असार १ देखि ३ गतेसम्म हुने भएको छ ।
प्राकृतिक र सांस्कृतिकरूपमा धनी नेपाल र अफ्रिकन मुलुकका धेरै कुरा मिल्दाजुल्दा रहेकाले महोत्सव गर्ने गरिएको अध्यक्ष डा मञ्जु मिश्रले जानकारी दिइन् । उनले भनिन्, “हालसम्म २० चलचित्र प्राप्त गरिसकेका छौं, यो महोत्सवले संस्कृति आदान-प्रदानमा सघाउने विश्वास हामीले लिएका छौं ।”
चलचित्र सहभागी हुनका लागि जेठको दोस्रो हप्तासम्म समय तोकिएको छ । महोत्सवमा विगतमा झैं यसपटक पनि बढीमा २५ चलचित्र चयन हुनेछन् । अन्तराष्ट्रिय प्रतिस्पर्धामा उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर चलचित्र, छोटा चलचित्र, वृत्तचित्र र निर्देशन विधामा प्रतिस्पर्धा हुनेछ ।
सांस्कृतिक झाँकी, नेपाल र अफ्रिकाको विषयमा अन्तरक्रिया, छोटा चलचित्रको समस्या र अवस्थालगायत विभिन्न विषयमा छलफल पनि गरिने महोत्सव निर्देशक डब्बु क्षेत्रीले जानकारी दिए। विदेश खण्डअन्तर्गत महोत्सवमा चलचित्र, लघुचलचित्र, वृत्तचित्र, एनिमेसन चलचित्र, कार्टुन चलचित्र सहभागी गराइने छ ।
“नेपाल खण्डअन्तर्गत खुला प्रतिस्पर्धा र विद्यार्थी चलचित्र प्रतिस्पर्धा गरी दुईवटा समूह रहेको छ”, निर्देशक क्षेत्रीले भने । यस्तै, खुला प्रतिस्पर्धामा उत्कृष्ट चलचित्र, लघुचलचित्र, निर्देशक, अभिनेता, अभिनेत्री, छायाँकार, सम्पादक, लेखकजस्ता विधामा प्रतिस्पर्धा हुनेछ ।