अवरुद्ध अरनिको राजमार्ग नियमित



बनेपा । काभ्रेको बनेपा नगरपालिका–१३ भैँसे पाटीमा आज बिहान करिब १ बजेतिर मोटरसाइकलले ठक्कर दिएर एक जनाको मृत्यु भएपछि स्थानीयले अवरुद्ध गरेको अरनिको राजमार्ग चार घण्टापछि नियमित भएको छ ।

बनेपाबाट काठमाडौंतर्फ जाँदै गरेको बा ६३ प २७२ नम्बरको मोटरसाइकलले ठक्कर दिएपछि बनेपा नगरपालिका–१३ स्थित भैँसे पाटीका स्थानीय अन्दाजी ६० वर्षीय बालकृष्ण बुढाथोकीको निधन भएपछि आक्रोशित स्थानीयले बिहान ४ बजेदेखि सडक अवरुद्ध गराएको सडक खुलेको हो ।


सडक अवरुद्ध भएपछि प्रहरीले वैकल्पिक रूपमा सवारीसाधन बनेपा–नाला–भक्तपुरको बाटोबाट वैकल्पिक मार्ग प्रयोग गरी सञ्चालन गरेर सडक खुलाउने प्रयास गरेको थियो ।

अहिले सडक पूर्ण रूपमा सञ्चालन भएको र घटना सम्बन्धमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी नायब उपरीक्षक रेशम बोहराले बताए । मोटरसाइकल चालकको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।