अर्थतन्त्र सुधारमा राजनीतिक दल एक ठाउँमा उभिनुपर्छ : शर्मा



काठमाडौं । सांसद विश्वप्रकाश शर्माले मुलुकको आर्थिक चुनौतीलाई पार लगाउन सबै राजनीतिक दल एक ठाउँमा उभिनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०/८१ नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा सांसद शर्माले भने, ‘हिजो परिवर्तनका लागि एक ठाउँमा उभिएका राजनीतिक दलहरू आजको आर्थिक चुनौतीलाई पार लगाउन एक ठाउँ उभिन जरुरी छ । गणतन्त्र १५ वर्ष पुग्दै गर्दा आत्मसमीक्षा गरेर हामीले यसलाई आत्मसाथ गर्नुपर्छ।’


उनले नीति तथा कार्यक्रमले नागरिकलाई केन्द्रमा राख्नुपर्ने बताए । ‘भौतिक प्रगतिको रटानले मात्रै हामीलाई भ्यूटावर खडा गर्न उस्काउँछ तर मान्छे बिर्साउँछ । भ्यूटावरका लागि डेढ अर्ब छुट्याउँदै गर्दा धनुषामा डेढ सय रुपैयाँको स्लाइनपानी लाउनसमेत नपाएर राजु सदाको मृत्यु भइरहेको छ’, उनले भने ।