अन्तरिक्षमा जाने पहिलो अरबी महिला अन्तरिक्षयात्री अन्तर्राष्ट्रिय स्पेस स्टेशनमा पुगेकी छिन् । अमेरिकाबाट आइतबार प्रक्षेपण गरिएको स्पेस एक्सको फल्कन ९ रकेटमार्फत् एक्सिओम स्पेसको दोस्रो निजी मिसनमा गएका दुई जना साउदीमध्ये रेयाना बर्नावी पनि एक हुन् । उनी अन्तर्राष्ट्रिय स्पेस स्टेशन आईएसएसमा १० दिन रहने योजना छ। त्यस अवधिमा ३४ वर्षीया बायोमेडिकल वैज्ञानिकले स्टेम सेल र स्तन क्यान्सरबारे अनुसन्धान गर्नेछिन् ।
उनले आफ्नो कामबाट मध्यपूर्वका सबै पृष्ठभूमिका महिलाहरूलाई प्रेरित गर्ने आशा राखेकी छिन् । बर्नावी एक्सिओमको दोस्रो मिसनमा खाडी अधिराज्यका दोस्रो पुरुष अन्तरिक्षयात्री तथा मिसन विशेषज्ञ अली अलकर्नीसँगै गएकी हुन् । उनीहरूसँग यो मिसनमा एकजना कमान्डर र एक पाइलटसहित दुईजना अमेरिकी पनि सहभागी छन् ।
उनीहरू स्पेस एक्सको ड्रागन अन्तरिक्षयानमार्फत् अन्तरिक्षमा पुगेका थिए। यो रकेट फल्कन ९ रकेटको माथिल्लो भागमा जडान गरिएको थियो । ड्रागन स्वायत्त रूपमा आईएसएसमा सोमबार १३ः१२ जिएमटीमा जोडिएको एक्सिओम स्पेसले ट्वीटमार्फत् जनाएको छ । अन्तरिक्षमा परिक्रमा गरिरहने प्रयोगशालाबाट यो टोलीका सदस्यहरूले २० भन्दा धेरै विज्ञान र प्रविधिसम्बन्धी प्रयोगहरू गर्नेछन् ।
उनीहरूले खोज गर्ने विषयहरूमा अन्तरिक्षको मानव स्वास्थ्यमा असर र वर्षा–बीउ प्रविधि पनि समेटिएका छन् । बर्नावीले रियाद स्थित किङ फैसल स्पेसियालिस्ट हस्पिटल एन्ड रिसर्च सेन्टरमा स्टेम सेल र तन्तुको पुनः बनावटबारे परियोजनामा अनुसन्धान प्रयोगशाला प्राविधिककी रूपमा गरेका कामको अनुभवका आधारमा आफ्ना केही प्रयोगहरू गर्नेछिन् ।
हालैको एक पत्रकार सम्मेलनमा उनले पहिलो साउदी अन्तरिक्षयात्री बन्दै गर्दा आफूलाई निकै खुसी लागेको र सम्मानित भएको महसुस भएको बताएकी थिइन् । उनले आफ्नो अनुभव आईएसएसबाटै भिडियोमार्फत् बालबालिकाहरूलाई सुनाउने योजना बनाएको बताएकी थिइन् ।
साउदी अरबमा महिलाहरूले आफैँ गाडी चलाउने अधिकार सन् २०१८ मा मात्रै पाएका थिए । मानव अधिकारकर्मीहरूले पुरुष अभिभावकत्वको कानुनले यहाँ अझै पनि महिलाका अधिकारहरू सीमित गरेको बताउने गरेका छन्।