अचम्मको संस्कृति : आगो पुज्न २२ गाउँका दरै एकै ठाउँ



तनहुँ । ठूलो जमघटका साथ आगोको पूजा गरिन्छ भन्दा जो कोहीलाई पत्यार नलाग्न सक्छ, तर तनहुँका दरै समुदायमा भने आगोको पूजा गर्ने अचम्मको संस्कृति कायम छ । व्यास नगरपालिका–५ चिन्तुटारका दरै समुदायले मङ्गलबार २२ गाउँका दरै समुदायलाई भेला गरेर आगोको धुमधाम पूजा गरेका छन् ।

‘आगोको पूजा कसरी गरिन्छ भन्ने देखाउन पनि हामीले बृहत् भेला गरेका हौँ”, व्यास–५ चिन्तुटारका दरै अगुवा ६२ वर्षीय मीनबहादुरले भने, ‘यसरी भेला गरी पूजा गरेपछि भावी पुस्ताले पनि जातीय संस्कृति बुझ्छन् भन्ने हाम्रो सोचाइ हो ।’ प्रत्येक वर्ष वैशाख पूर्णिमापछि पर्ने गङ्गा दशहराको दिन दरै समुदायले विशेष पर्वका रूपमा मनाउने प्रचलन रहेको व्यास–५ चिन्तुटारका दरै पुजारी ६८ वर्षीय पदमबहादुरले जानकारी दिए ।


उनका अनुसार यस दिन गिदरी प्रजातिको काठलाई मन्थन गरी आगो सल्काएर त्यो आगोलाई अक्षता, फूलपातीले पूजा गर्ने र दरै समुदायका सबैले आगोलाई घरमा लैजाने प्रचलन रहेको छ । आगो पूजा गरेपछि प्रसादको रुपमाचामलको पिठोबाट बनाइएको विशेष परिकार ‘डेगुवा’ खाने र नाचगान गरी मनोरञ्जन गर्ने चलन छ ।

आगोको पूजा गरी घरमा लैजाने चलन देख्दा अचम्म लागेको चिन्तुटार घर भई हाल व्यास–१ दमौलीस्थित आदिकवि भानुभक्त क्याम्पसमा स्नातक अध्ययनरत २३ वर्षीया सुनिता दरैले बताइन् । यसअघि आगोको बृहत् पूजा गरिएको जानकारी नपाएको उनले बताएन् ।

निम्तो पाएपछि छ/सात जना भएर आफूहरू आगोको पूजा गर्न आएको व्यास–१० अत्रौली दरै समाजका अध्यक्ष हिराबहादुर दरैले बताए । यस्तो कार्यक्रमले आफूहरूलाई संस्कृति संरक्षण गर्नेबारे सचेत बनाउने उनको भनाइ थियो । आगोको पूजा सम्पन्न गर्न आफूहरूले तनहुँको शेरा, दुम्सी, साँगे, पतेनी, बैरेनी, फराकचौर, सिमलटार, निर्वु, सिसाघाट, अत्रौली, साँखर, भादगाउँलगायत २२ स्थानका दरै समुदायलाई निम्तो दिएको दरै समाज सुधार समितिका अध्यक्ष शर्मिला दरैले बताइन् ।

आगोको पूजा कार्यक्रममा व्यास नगरपालिकाका उपप्रमुख इन्दिरा दरै, दरै सुधार समाज तनहुँका अध्यक्ष ठाकुर दरैलगायतका सहभागी हुँदा संस्कृति संरक्षणमा टेवा पुगेको आफूले ठानेको अध्यक्ष दरैको भनाइ छ । नदीमा माछा मारेर जीविका चलाउँदै आएका दरैको तनहुँ, गोरखा, चितवन, धादिङ र नवलपरासीमा बाहुल्य छ । विसं २०६८ अनुसार मुलुकमा दरैको जनसङ्ख्या १७ हजार आठ सय ७९ छ ।