सारङ्गी संस्कृति लोप हुने चिन्ता



कास्की । सारङ्गी संस्कृति र गायन हराउन थालेपछि गन्धर्व समुदायका ज्येष्ठ नागरिक चिन्तित हुन थालेका छन् । पश्चिमा संस्कृतिको प्रभावले नेपाली संस्कृति ओझेलमा पर्दै गएपछि यसको संरक्षण हुनुपर्ने उनीहरूको भनाइ छ ।

पोखरा बाटुलेचौरका खिमबहादुर गन्धर्व ८८ वर्ष पुगे । उमेर छँदा सारङ्गी बजाएर गाउँदै हिँडेको उनलाई निकै याद आउँछ । उनी लोक गायक झलकमान गन्धर्वका साथी पनि हुन् । उनलाई पछिल्लो समय सारङ्गी वादन हराउँदै जान थालेकोमा चिन्ता लाग्छ । ‘अहिलेका केटाहरू गीतार, हार्मोनियम, किबोर्ड केके भन्छन् । यस्तै छ सिक्न त्यति सारो रुचि गर्दैनन्’, खिमबहादुरले भने, ‘सारङ्गी त हाम्रो संस्कृति हो नि । त्यही भएर हराउँछ की भन्ने साह्रै चिन्ता लाग्छ ।’


सिक्न चाहनेका लागि सिकाउन आफू तत्पर रहेको उनले सुनाए । ‘अलि अलि चासो लिएर आउनेलाई सिकाउने गरेको छु’, उनले भने, ‘गीत गाउन त घाँटीले साथ दिँदैन । सारङ्गी लिएर यसो गर उसो गर भनेर भन्न सक्छु । अनि सिकाउँछु पनि ।’ गोरखा नगरपालिका–७ धारापानीका मङ्गलप्रसाद गान्धारी पनि युवापुस्ताले सारङ्गी बजाउन नखोज्ने बताउछन् । ‘हाम्रा पालामा सारङ्गी बोकेर घटना सुनाउन कता कता पुगिन्थ्यो । अहिले त त्यो छैन’, मङ्गलप्रसादले भने, ‘हामी जसरी गाउँ गाउँ नहिँडे पनि बजाउन मात्रै सिकिदिए नि हुन्थ्यो भन्ने हुन्छ ।’

नेपाल गन्धर्व समुदाय विकास केन्द्रका अध्यक्ष सूर्यबहादुर गायकले सारङ्गी वादन संस्कृति जोगाउन आफूहरू प्रयासरत रहेको जानकारी दिए । युवापुस्ताले हाम्रो संस्कृति मङ्गल, महाल, कर्खा, मालश्री, नौराग, बाह्रमासे गीत बिर्सदै गएकोमा उनले चिन्ता व्यक्त गरे । ‘हाम्रो संस्कृति जोगाउन यो वर्ष सारङ्गी वादन प्रतियोगीता गर्यौं’, अध्यक्ष सूर्यबहादुर गायकले भने, ‘सात वर्षभन्दा माथिका बच्चाहरूलाई सारङ्गी वादन तालिम दिइरहेका छौँ ।’ सारङ्गी बजाउन जानिसकेकालाई गन्धर्व गीतको प्रशिक्षण दिइरहेको उनले सुनाए ।