काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का सांसद प्रदीप यादवले नक्कली भुटानी शरणार्थी प्रकरण मुछिएका नेकपा (एमाले) का सचिव टोपबहादुर रायमाझी किन लुकेर बसेका भनी प्रश्न गरेका छन् । आज (मंगलबार) को प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद् यादवले लुक्नु भनेको संलग्नता पुष्टि हुने बताउँदै दोषी नभए किन लुकेको भनी प्रश्न गरेका हुन् ।
‘यदि, दोषी छैनन् भने किन लुकेर बसेका छन् ? लुक्नु भनेको कुनै न कुनै रूपमा यो प्रकरणमा उनको संलग्नता भएको पुष्टि गर्दछ । उनको छोरा पक्राउ पर्नुले यसलाई थप बल पुगेको अवस्था छ,’ सांसद यादवले भने । प्रहरीले नियन्त्रणमा लिएर कारबाही नगरे प्रहरीमाथि नै प्रश्न उठ्ने उनले बताए । उनले प्रकरणमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कानुनी दायरामा ल्याउनु पर्ने माग गरे ।