सर्वोच्चमा अर्को रिट परेपछि रविले भने-‘इरिटेट’ गर्ने पनि सीमा हुन्छ



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरिएकोप्रति आक्रोश पोखेका छन् । बिहीबार सामाजिक संजालमार्फत लामिछानेले मुद्दा हाल्नु र मुद्दा हाल्ने उद्योग चलाउनु अलग कुरा भएको बताएका छन् ।

उनले भनेका छन्, ‘मुद्दा हाल्नु र मुद्दा हाल्ने उद्योग चलाउनु दुई अलग कुरा हुन् । मान्छेलाई इरिटेट गर्ने पनि सीमा हुन्छ।’ उनले सर्वोच्च अदालतले गएको पुस १३ गते गरेको फैसलामा आफूले अमेरिकी नागरिकता त्यागेको निश्चित गरेको बताएका छन्।


उनले आफूले अमेरिकी नागरिकता त्यागेको सक्कल निस्सा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पेस गरी पुनः नागरिकता पनि कायम गराइसकेको बताएका छन् । सांसद पद खारेजीको मागसहितको रिट दर्ता भएको छ । बुधबार युवराज पौडेलले लामिछानेको प्रतिनिधिसभा सदस्य पद खारेज गरिपाउँ दिएको रिट दर्ता भएको हो । रिटको पेसी जेठ १७ गतेलाई तोकिएको छ ।

चेतावनीयुक्त भाषामा उनले लेखेका छन्:

मुद्दा हाल्नु र मुद्दा हाल्ने उद्योग चलाउनु दुई अलग कुरा हुन् । मान्छेलाई इरिटेट गर्ने पनि सिमा हुन्छ।
१) सर्वोच्च अदालतको मिती २०७९/१०/१३को फैसलाको प्रकरण नं.२२, २८ र ३२ मा मैले अमेरिकी नागरिकता परित्याग गरेको तथ्य confirm गरेको छ।
२) अमेरिकि नागरिकता त्यागेको सक्कल निस्सा जिप्रका काठमाडौमा पेस गरि नेपाली नागरिकता पुन कायम गराएको छु ।
३) अदालतले झिकाउनु भनेको अमेरिकी राहदानीको सक्कल निस्सा मैसँग भएकाले मिति २०८०/०२/ ०९ मा सर्वोच्च अदालतमा बुझाइसकेको छु। यसको जानकारी र सक्कल बमोजिम नक्कल मिती २०७५/०३/०६ मा अध्यागमनलाई सप्रमाण बुझाइसकेको थिएं। टेलीभिजन बाट घोक्रो सुक्ने गरि सप्रमाण बोलीसकेको थिएं।
४) घण्टी लाई बजाउन मात्र होईन घण्टीले बजाउन पनि मिल्छ।