सत्ता गठबन्धनको बैठक : प्रधानमन्त्रीले विश्वासको मत लिनुनपर्ने निष्कर्ष



काठमाडौँ । सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिनुनपर्ने निष्कर्ष निकालेको छ । 

नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्काल विश्वासको मत लिनुपर्ने आवश्यकता नरहेको बताए ।


प्रमुख सचेतक हितराज पाण्डेका अनसार संसद् बैठकलाई कसरी व्यवस्थित बनाउने भन्ने बारेमा पनि छलफल भएको छ । निजामती ऐन, संघीय शिक्षा ऐनका बारेमा समेत छलफल भएको उनले जानकारी दिए ।

बैठकमा संसद्का विषयगत समितिलाई कसरी अघि बढाउने र प्रधानन्यायाधीशको नियुक्तिका बारेमा पनि छलफल भएको छ ।

‘भोलिबाट संघीय संसद्को बैठक चल्दै छ, त्यसलाई कसरी व्यवस्थित बनाउने भन्ने बारेमा छलफल भयो । भोलिको बैठकमा नै सरकारका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्ने विषय छ, त्यसका बारेमा गठबन्धनको बैठक बसेको हो,’ उनले भने, ‘अब व्यवस्थित रूपमा भोलि सदन सुरु गरेपछि कार्यक्रम अघि बढाउनेछौँ । विश्वासको मत लिने आवश्यकता छैन । विषयगत समितिलाई कसरी अघि बढाउने र सर्वोच्चमा प्रधानन्यायाधीशको नियुक्तिलाई कसरी अघि बढाउने भन्ने बारेमा छलफल भयो ।’