सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई चाँडो टुङ्गोमा पुर्याइनेछ : प्रधानमन्त्री दाहाल



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद्भित्र र बाहिर समझदारी बनाएर सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई चाँडो टुङ्गोमा पुर्याइने बताएका छन् ।

१४औँ बेपत्ता राष्ट्रिय बेपत्ता योद्धा स्मृति दिवसका अवसरमा आज बेपत्ता योद्धा परिवार समाज नेपालले आयोजना गरेको ‘बेपत्ता योद्धाको सपना सार्वजनिकीकरण र शान्ति प्रक्रिया’ विषयक अन्तक्र्रियामा नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले संसद्मा विचाराधीन सत्य तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिनसम्बन्धी आयोगसँग सम्बन्धित विधेकमाथि दफाबार छलफल गरेर बेपत्ता, सहिद, घाइते योद्धाका परिवारलाई सम्मान र सुविधा दिने गरी विधेयक पारित गरिने विश्वास व्यक्त गरे ।


उनले विधेयक छिट्टै पारित भएपछि अबको दुुई वर्षभित्र सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा लाने गरी काम अघि बढाइने पनि बताए । प्रधानमन्त्री दाहालले भने, “यस प्रक्रियालाई टुङ्गोमा लाने विषयमा सत्ता गठबन्धनमा राम्रो छलफल चलिरहेको छ । यसमा नेपाली कांग्रेस, नेकपा (एमाले) लगायत दलको साथ र प्रतिबद्धता आएकै छ । त्यसकारण अब तपाईँहरुका मागको सम्बोधन हुनेमा म विश्वास दिलाउन चाहान्छ ।”

अध्यक्ष दाहालले पूर्व माओवादीधारका सबै शक्तिहरु एकै ठाउँमा आएर समाजवादको क्रान्तिलाई नयाँ ढङ्गबाट अघि बढाउने माहोल बनिरहेको उल्लेख गर्दै क्रान्तिकारीहरुको एकता आवश्यक रहेको बताए ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले पैसा र शक्तिका आधारमा चुुनाव जित्ने अवस्था नहुने हो भने लोकतन्त्र बलियो हुने र त्यस्तो अवस्थामा आफूहरु प्रतिस्पर्धामा उत्रन तयार रहेको स्पष्ट गरे । उनले माओवादीहरुलाई एक ठाउँमा ल्याएर विगतका तीता मीठा भुलेर अघि बढ्न प्राप्त सुझावमाथि बहस हुनुपर्ने बताए ।