रुपन्देही । मायादेवीले सिद्धार्थ गौतमलाई लिएर तिलौराकोट दरबार फर्कँदै गर्दाको प्रतीकका रूपमा लुम्बिनीबाट शिशु बुद्ध कपिलवस्तुको तिलौराकोट लगिएको छ ।
लुम्बिनीमा जन्मिनुभएका सिद्धार्थ गौतमलाई बुद्ध पूर्णिमाको अर्को दिन लुम्बिनीबाट गृह नगर प्राचीन कपिलवस्तु लगिएको थियो । त्यही दिनको प्रतीकका रूपमा आज लुम्बिनीबाट सिद्धार्थलाई तिलौराकोट दरबार लगिएको हो ।
लुम्बिनी विकास कोषका सदस्यसचिव सानु राजा शाक्यले कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्यलाई शिशु बुद्ध (बोधिसत्व सिद्धार्थ)को धातुको मूर्ति हस्तान्तरण गरी प्राचीन तिलौराकोट दरबार पठाइएको हो ।
बुद्धकी आमा मायादेवी माइतीघर जाँदा लुम्बिनीमा जन्मेका बुद्धलाई गृह नगर तिलौराकोट फर्कँदाको क्षणलाई स्मरण गरी बोधिसत्व बुद्धको मूर्तिको शोभा यात्रा गरिएको कोषका सदस्यसचिव शाक्यले बताए ।
लुम्बिनी विकास कोषले विगतका वर्षमा रथयात्रा गरी शिशु बुद्धलाई कपिलवस्तुको तिलौराकोट लैजाने कार्यक्रम गरे पनि यो वर्ष भने गाडीमै पठाइएको छ ।
बुद्धका पिता राजा शुद्धोदनले छोरा राजकुमार सिद्धार्थ जन्मिएपछि कपिलवस्तुको तिलौराकोटबाट बाजागाजासहित लिन सेना पठाएको थिए । त्यही दिनको सम्झना स्वरूप लुम्बिनी विकास कोषले केही वर्षयता बुद्ध जयन्तीको अर्को दिन शिशु बुद्धलाई लुम्बिनीबाट तिलौराकोट लैजाने गरिएको छ ।
बौद्ध ग्रन्थअनुसार मायादेवी गर्भवती भएपछि माइत देव दह जाने इच्छा गरेका थिए । रमणीय बगैँचा लुम्बिनी पुगेपछि डोलीबाट ओर्लिएर प्राकृतिक सौन्दर्यको आनन्द प्राप्त गर्न नपाउँदै सुत्केरी व्यथा लागेपछि अशोकको वृक्ष समातेर राजकुमार सिद्धार्थलाई जन्म दिएकी थिइन् ।
यो खबरले तिलौराकोट, कपिलवस्तु सहर र देव दहमा हर्षोल्लास भयो र सिङ्गो कपिलवस्तु सहर सिँगारेर चिटिक्क पारिएको थियो ।
सुत्केरी मायादेवी, शिशु सिद्धार्थसहित सयौँको सङ्ख्यामा रथमा बसेर कपिलवस्तु फर्किएका थिए । त्यति बेला कपिलवस्तुका प्रत्येक नागरिकले राजा शुद्धोदनलाई पुत्र लाभ भएको खुसीयालीमा घर–घरबाट स्वागत एवम् दीपावली गरेका थिए ।
सोही दिनको स्मरण गर्दै लुम्बिनी विकास कोषले शिशु बुद्धलाई बुद्ध जयन्तीको भोलिपल्ट तिलौराकोट लैजाने कार्यक्रम गर्दै आएको छ ।