शरणार्थी प्रकरणमा पूर्व प्रधानमन्त्रीहरुलाई पनि अनुसन्धानको दायरामा ल्याऔं : सांसद सुवाल



काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले भुटानी शरणार्थी प्रकरणमा पूर्व प्रधानमन्त्रीहरुलाई पनि अनुसन्धानको दायरामा ल्याउन माग गरेका छन् ।

आज (सोमबार) सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा संसदमा बोल्दै सुवालले ओली र देउवाको नाम उल्लेख नगरे पनि दुई पूर्वमन्त्री बालकृष्ण खाँण र टोपबहादुर रायमाझी पक्राउ परेपछि दुई पूर्व प्रधानमन्त्रीलाई पनि बोलाएर अनुसन्धान गरिनुपर्ने माग गरेका हुन् ।


‘प्रधानमन्त्रीय प्रणालीमा मन्त्रीहरुको काम जस अपजस प्रधानमन्त्रीले लिनुपर्ने हुन्छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री अनुसन्धानका लागि प्रहरी हिरासतमा छन्’ सुवालले भने, ‘यो प्रकरणमा पूर्व प्रधानमन्त्रीहरुलाई बयानमा बोलाएर अनुसन्धानलाई पूर्ण बनाउनु पर्ने आवश्यकता छैन र ?’ सुवालले भने,‘ एक पूर्व प्रधानमन्त्री (केपी शर्मा ओली) ले ४ सय जनालाई १० वर्षअघि भुटानी शरणार्थी बनाई अमेरिका छिराएको आफूसँग प्रमाण भएको सार्वजनिक रुपमा बताउनु भएको छ । यो विषय सरकारलाई थाहा छैन ?’

त्यस्तै अर्को प्रसंगमा उनल जापानमा राजवंशी कोटा खुल्यो भनेर ४ सय जनासँग ३ करोडभन्दा बढी ठगी गर्ने गिरोहमा मन्त्रीको समेत संलग्नता हुनसक्ने सुवालको आशंका व्यक्त गरे ।