विराटनगरमा बिहानैदेखि पहिचानवादीको प्रदर्शन, १७ जना पक्राउ



विराटनगर । कोशी प्रदेशसभाको बजेट अधिवेशन सुरु हुनुअघि प्रहरीको धरपकड सुरु भएको छ । आज बिहानै देखि पहिचान पक्षधरको आन्दोलन सुरु भएपछि प्रहरीले विराटनगरबाट १७ जना कार्यकर्तालाई पक्राउ गरेको हो ।

गत पुस १७ गते प्रदेशको नामकरणपछि प्रदेशसभाको बैठक स्थगित गरिएको थियो । त्यसपछि पहिचानवादीको प्रदर्शन र आन्दोलनका कारण प्रदेशसभाको बैठक नै नबसी हिउँदे अधिवेशन अन्त्य भएको थियो । आज दिउँसो २ बजे प्रदेशसभा बैठक बस्दैछ ।


आन्दोलनलाई लक्षित गरी स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा बनाएको छ । प्रदेशसभा परिसर, मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय अगाडी र आसपासको क्षेत्रमा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ ।