विपद् नमूना अभ्यास हेर्दै भक्कानिए बोटे समुदाय



तनहुँ । व्यास नगरपालिका–१० मा पर्ने मादी नदीमा केही व्यक्ति बगाउँदै गरेको भयावह दृश्य देखियो। देख्नेहरू अत्तालिँदै हारगुहार माग्दै बचाउन आग्रह गर्दै थिए।

तत्कालै नेपाली सेना डुंगा लिएर गोताखोर टोलीसहित बग्दै गरेकालाई बचाउन उद्धारमा जुट्यो। तत्कालै सेनाले उद्धार गर्दा नदीमा बग्दै गरेका पाँच/छ जनाले पुनः जीवन पाए।


नजिकै डिलमा बसेर नेपाली सेनाले सोमबार गरेको विपद नमूना अभ्यास हेर्दै गरेका मानिसहरूमध्ये स्थानीय टेकबहादुर बोटेको आफूलाई सम्हाल्न सकेनन्।

‘यस्तो विपद शत्रुलाई पनि नपरोस्,’ दायाँ हातले आँसु पुछ्दै ५० वर्षीय टेकबहादुरले भने, ‘यही नदीले पाँच महिना पहिले मेरी बुहारी मंगलीलाई पनि खायो। अहिले बुहारीको सम्झना आयो। त्यसैले मन सम्हाल्न सकिनँ।’

व्यास–५ पाटनमा धारापानी घाटको जंघार तर्ने क्रममा ४१ वर्षीया बुहारी मंगलीलाई बगाएर मृत्यु भएको उनले बताए। मंगलीको शव करिब तीन सय मिटर तल फेला परेको थियो।

त्यसअघि २०७३ सालमा स्थानीय ५८ वर्षीय वुद्धिबहादुर बोटेको पनि सोही स्थानमा बगेर मृत्यु भएको थियो। भैंसी तार्ने क्रममा बुद्धिबहादुरको मृत्यु भएको टेकबहादुरले बताए।

उक्त घटनापछि गाउँलेले पानीसँग जबरजस्ती गर्न हुँदैन रहेछ भन्ने सिकेको उनले बताए। विपदको समयमा सूचना पाएलगत्तै उद्धारमा खटिने गरी सुरक्षाकर्मी छिटो आउने गरी राज्यले व्यवस्था गर्नुपर्ने स्थानीय ४० वर्षीय टिकाराम थापामगरले बताए।

‘विपद नमूना अभ्यास हेरेर कसरी उद्धार गरिने रहेछ भन्ने जानकारी पायौं,’ टिकारामले भने, ‘तर साँच्चै विपदको समयमा तालिम प्राप्त सुरक्षाकर्मीहरू तुरून्तै आउने गरी राज्यले व्यवस्था गर्न सक्नुपर्छ। तब मात्र नागरिकको जीउधनको रक्षा गर्न सकिन्छ।’

उक्त नमूना अभ्यास गरिएको मादी नदी किनारा नजिकै लोपोन्मुख बोटे समुदायको ३६ घर छ। उक्त गाउँमा करिब एक सय ८० जना लोपोन्मुख बोटेहरू बस्दै आएका छन्। नदीमा माछा मारेर जीविका चलाउँदै आएका बोटेहरू पछिल्लो समय कृषिमा संलग्न छन्। विपद नमूना अभ्यासले गर्दा आफूहरूले प्राकृतिक विपदमा कसरी जीवन रक्षा गर्ने भन्ने बारेमा जानकारी पाएको स्थानीय ४५ वर्षीया राममाया बोटेले बताइन्।

‘विपद नमूना अभ्यासबाट हामीले विपदको समयमा आत्तिन नहुने कुरा पनि सिक्यौं,’ राममायाले भनिन्, ‘आगलागी, बाढीपहिरो र भूकम्पको जोखिमबाट कसरी बच्न सकिन्छ भन्ने बारेमा प्रत्यक्ष जानकारी पाइयो।’

सुनेरभन्दा पनि देखेको धेरै समयसम्म सम्झिने भएकाले नमूना अभ्यासले विपदको समयमा कसरी उद्धार गर्ने भन्ने बारेमा आफूहरूले सिकेएको स्थानीय ४३ वर्षीय आइतबहादुर बोटेले बताए।

पूर्वतयारी पनि गर्नुपर्ने रहेछ भन्ने बारेमा जानकारी पायौं,’ आइतबहादुरले भने, ‘विपद नै परेको जस्तो दृश्य देख्दा आङ नै सिरिंग भयो।’

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गण्डकी प्रदेश र नेपाली सेनाको पश्चिम पृतना हेड क्वाटरको संयुक्त आयोजना र दमौलीस्थित कालिभञ्जन गणको संयोजनमा सोमबार विपद नमूना अभ्यास भएको थियो।

आगलागी, भूकम्प, बाढीपहिरामा परेकालाई कसरी उद्धार गर्ने भन्ने बारेमा भएको अभ्यासको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डे, व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने, प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल, म्याग्दे गाउँपाकिाका प्रमुख श्रीप्रसाद श्रेष्ठ, श्री नम्बर ३ बाहिनी अड्डाका बाहिनीपति गौरवकुमार केसी, गण्डकी प्रदेशका प्रहरी नायब महानिरीक्षक बुद्धिराज गुरूङ, सशस्त्र प्रहरी बल नेपालका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक कालिदास धौवजी, गण्डकी प्रदेश राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान निर्देशक मधु केसी लगायतले विपद नमूना अभ्यास निरीक्षण गरेका थिए।

गण्डकी प्रदेशमा तीन वर्षमा बाढीपहिरो आगलागीबाट दुई सय १८ जनाको मृत्यु भएको छ भने चार सय एक घाइते भएका छन्। दुई हजार पशुचौपाया र दुई हजार पाँच सय भौतिक संरचनामा क्षति पुगेको तथ्यांक छ।

त्यसैले सबै पक्ष गम्भीर हुन आवश्यक रहेको पश्चिम पृतनाका पृतनापति उपरथी दीपककुमार बानियाले बताए। उनका अनुसार गण्डकी प्रदेशमा आर्थिक वर्ष २०७८/७९ मा वार्षिक ४३ करोड मूल्य बराबरको आर्थिक क्षति भएको छ।

‘विपदबाट सर्वसाधारणको उद्धार गर्न सकिन्छ भन्ने ठानेर नै हामीले नमूना अभ्यास गरेका हौं,’ उनले भने, ‘यस्ता कार्यलाई स्थानीय तहले पनि आफ्नो कार्यक्रम बनाएर व्यापक प्रचारप्रसार गर्न आवश्यक छ।’

गत वर्ष गण्डकी प्रदेशका ११ जिल्लामा नेपाली सेनाको नेतृत्वमा १८ नमूना अभ्यास गरिएको थियो।

विपद अचानक आइपर्ने भएकाले पूर्वतयारी गरी विपदबाट हुने क्षति कम गर्न सकिने गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले बताए।

विपद जोखिम क्षेत्र पहिचान गरी मानवियलगायतका क्षति न्यूनीकरण गर्न पूर्वतयारी गरी तालिम प्राप्त जनशक्ति खटाउने गरी गण्डकी प्रदेशबाट व्यवस्था गर्न लागिएको उनले बताए।

‘गण्डकी प्रदेशमा विपद कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने बारेमा हामी गम्भीर भएर लागेका छौं,’ मुख्यमन्त्री पाण्डेले भने, ‘विपद व्यवस्थापनको लागि सबै क्षेत्रबाट सकारात्मक पहल कदमीको अपेक्षा गरेका छौं।’

विपद व्यवस्थापनको लागि आफूहरुले पाठ्यपुस्तकमा उल्लेख गर्ने गरी तयारी गरिरहेको मुख्यमन्त्री पाण्डेले बताए।