लेखापढी कानुन व्यवसायीहरूको आन्दोलनले मालपोतको कामकाज प्रभावित 



बारा । बारामा लेखापढी कानुन व्यवसायीले भू–सेवा सञ्चालनको म्याद बढाउन माग गर्दै जारी राखेको आन्दोलनका कारण मालपोत कार्यालयका कामकाज प्रभावित भएका छन् । लेखापढी कानुन व्यवसायीले ‘पेन डाउन’ गरेपछि सेवाग्रही मारमा परेका छन् ।

भूमिसुधार तथा व्यवस्थाप विभागले मालपोतलाई बाँकी तालिम दिन निर्देशन दिए पनि मालपोत कार्यालयले अहिलेसम्म तालिम नै नदिई लेखापढी कानुन व्यवसायीलाई काम गर्नबाट वञ्चित गराउने उद्देश्यका साथ जेठ १ गतेदेखि भू–सेवा सञ्चालनमा ल्याएको उनीहरुको आरोप छ । यसबाट ५४ लेखापढी कानुन व्यवसायी मर्कामा परेको र आफूहरुले म्याद थपका लागि तथा तालिम दिनका लागि आन्दोलन गरिरहेको लेखापढी कानुन व्यवसायी सङ्घका जिल्ला अध्यक्ष बृजकिशोर यादवले बताए ।


मालपोत कार्यालयले गत पुसमा भू–सेवा सञ्चालनका लागि सूचना प्रकाशित गरेको थियो । लेखापढी कानुन व्यवसायीले रु ५३ हजार धरौटी राखी अनलाइन फर्म भरेको भए पनि गत चैत १८ गतेमात्र विभागले एक दिनको तालिम मात्र दिई झारो टार्ने काम गरेको व्यवसायीको आरोप छ । भू–सेवा नयाँ आर्थिक वर्षको साउन १ गतेदेखि लागू गर्न माग गरेको यादवले बताए ।

मालपोत कार्यालयका प्रमुख सुमन चौधरीले लेखापढी कानुन व्यवसायीले यही जेठ १ गतेदेखि सेवा सञ्चालन गर्न दुई पक्षबीच सहमतिमा हस्ताक्षरसमेत गरिसके अवस्थामा आफूले गरेको सहमतिबाट लेखापढी व्यवसायी पन्छिरहेको बताए । “गत वैशाख ३ गते नै सेवा सञ्चालन गर्न मालपोत कार्यालयले तयारी गरे पनि लेखापढी व्यवसायीको विरोधका कारण सेवा सञ्चालनमा आउन सकेका थिएन”, चौधरीले भने ।