लागु औषध र भरुवा बन्दुकसहित छ जना पक्राउ



कर्णाली । जिल्ला प्रहरी कार्यालय सुर्खेतअन्तर्गत तातोपानी अस्थायी प्रहरी पोष्टबाट खटिएको प्रहरीले भरुवा बन्दुकसहित तीन जनालाई पक्राउ गरेको छ ।

उक्त अस्थायी प्रहरी पोष्टबाट सादा पोशाकमा खटिएको प्रहरीले सुर्खेत पञ्चपुरी नगरपालिका- १० बच्छीबाट आज तीन जनाको शिकारी टोलीलाई भरुवा बन्दुकसहित पक्राउ गरेको हो । भरुवा बन्दुक लुकाइछिपाई राखेको सूचना प्राप्त गरेलगत्तै त्यहाँ पुगेको प्रहरीले तीन नाल बन्दुकसहित सोही नगरपालिका-१० का ४५ वर्षीय जगतबहादुर खत्री, ५७ वर्षीय हस्तबहादुर नेपाली र ६० वर्षीय टेकबहादुर बयकलाई पक्राउ गरेको हो । पक्राउ परेका तीनै जनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।


त्यसैगरी, जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट सादा पोशाकमा खटिएको प्रहरीले टोलीले वीरेन्द्रनगर नगरपालिका-३ सुर्खेत हिलेखालीस्थित लागू औषधसहित तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका-१ का २९ वर्षीय गणेश थापा, वडा नं २ का २३ वर्षीय तपेन्द्र शाही र वडा नं १० का २१ वर्षीय नीरज रानामगर रहेको बताइएको छ । उनीहरूबाट दुई पुडिया ब्राउन सुगरजस्तो देखिने खैरो धुलो बरामद गरिएको प्रहरीले जनाएको छ ।