रेशमको रिहाइ र नागरिकता विधेयक प्रमाणीकरण गर्न किन्तु परन्तु नगरौँ : बाबुराम भट्टराई



काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले रेशम चौधरीलगायत थारु विद्रोहका नेतालाई राष्ट्रपतिबाट सजाय माफी दिन ढिलो गर्न नहुने बताएका छन्।

शुक्रबार राति सामाजिक सञ्जालमा भट्टराईले चौधरीलगायतलाई माफी मिनाहा गर्न र सरकारले अनुरोध गरेअनुसार नागरिकतासम्बन्धी विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण गर्न विलम्ब गर्न नहुने बताएका छन्।


‘रेशम चौधरी लगायतका टीकापुर थारु विद्रोहका नेताहरूलाई संविधान-कानून बमोजिम राष्ट्रपतिबाट माफी मिनाहा दिन र हजारौँको सङ्ख्यामा नागरिकताविहीन रहेका जन्मसिद्ध बाबुआमाका सन्तानलाई नागरिकता दिन सांसदबाट पारित नागरिकतासम्बन्धी विधेयक राष्ट्रपतिबाट छिटो जारी गर्न अब कुनै किन्तु परन्तु नगरौँ,’ भट्टराईले भनेका छन्, ‘लोकतन्त्र भनेको प्रक्रिया सँगसँगै मुख्यतः जनतालाई न्याय र समानताको प्रत्याभूति गर्ने प्रणाली हो भन्ने नभुलौँ।’