राष्ट्रिय हितका द्विपक्षीय सहमति हुन्छन् : मन्त्री रिजाल



काठमाडाैं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रेमश रिजालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा राष्ट्रिय हितमा द्विपक्षीय सहमति र सम्झौता हुने बताएका छन् ।

प्रधानमन्त्री नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डलमा सहभागी रहने मन्त्री रिजालले भ्रमणका क्रममा पारवहन सन्धि नवीकरण हुने, दुई देशबीच थप पेट्रोलियम पाइपलाइन विस्तारका विषयमा पनि सहमति हुने जानकारी दिए ।


सुगौली र चारआली क्षेत्रको पेट्रोलियम पाइपलाइनमा भारतले सम्पूर्ण खर्च लगाउने र अमलेखगञ्जदेखि लोथरसम्मको काममा भारतले पाइपलाइन ओछ्याइने दिने तथा टर्मिनल ट्यङ्क नेपालले बनाउने योजना रहेको मन्त्री रिजालले बताए । यसैगरी भैरहवामा एकीकृत भन्सार चौकीको शिलान्यास गर्ने र नेपालगञ्जमा एकीकृत भन्सार चौकीको दुवै देशका प्रधनमन्त्रीले संयुक्तरुपमा उद्घाटन गर्ने कार्यक्रम रहेको उनले बताए ।

दोधरा चाँदनी क्षेत्रमा सुक्खा बन्दरगाहलाई अघि बढाउने सन्दर्भमा पनि कुराकानी हुने मन्त्री रिजालको भनाइ थियो । जुट निर्यातमा लगाईएको एन्टिडम्पिङलगायतको विषय र नेचुरल ग्यास ल्याएर नेपालमा रसायनिक मल कारखाना राख्ने विषयमा पनि कुरा हुने उनले बताए । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री दाहाल बुधबार दिउँसो भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गर्ने कार्यक्रम छ ।

भ्रमण दलमा मन्त्री, नेपाल सरकारका उच्च सरकारी अधिकारी, सञ्चारकर्मीलगायतको सहभागिता छ । भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले उनका भारतीय समकक्षी नरेन्द्र मोदीसँग द्विपक्षीय हित र चासोका विविध विषयमा छलफल गर्नेछन् । भारतीय राष्ट्रपति र उपराष्ट्रपतिसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ । प्रधानमन्त्रीले नेपाली राजदूतावासमा नेपाली समुदायसँग छलफल गर्ने छन् ।