यसकारण घट्यो यी ३४ जिल्लाको जनसंख्या



काठमाडौँ । नेपालमा जनसांख्यिक वितरणमा असन्तुलन पाइएको छ । राष्ट्रिय जनगणना, २०७८ ले नेपालको जनसांख्यिक असन्तुलनले हिमाल र पहाडका ३४ वटा जिल्लाको जनसंख्या वृद्धिदर ऋणात्मक भएको देखाएको छ ।

जनगणनाअनुसार रामेछाप, खोटाङ, मनाङ, भोजपुर, तेह्रथुम, स्याङ्जा, गुल्मी, अछाम, पर्वत, अर्घाखाँची र पाँचथर जिल्लामा जनसंख्या घटेको छ । यसैगरी सिन्धुपाल्चोक, धनकुटा, दोलखा, गोरखा, बागलुङ, लमजुङ, पाल्पा, म्याग्दी, ओखलढुङ्गा, ताप्लेजुङ, नुवाकोट, काभ्रेपलाञ्चोक, इलाम, दैलेख, बैतडीमा पनि जनसंख्या घटेको छ । डोटी, धादिङ, बझाङ, डडेल्धुरा, सल्यान, सोलुखुम्बु, तनहुँ, सङ्खुवासभामा पनि जनसंख्या घटिरहेको छ ।


त्रिवि केन्द्रीय जनसंख्या अध्ययन केन्द्रीय विभागका प्रमुख प्रा डा योगेन्द्र गुरुङ सेवा सुविधा केन्द्रीकृत भएर मानिस बसाइँसराइ गर्दा जनसंख्या ती जिल्लामा घटेको बताउँछन् । ‘जहाँ सेवा सुविधा केन्द्रित छन् त्यहाँ बसाइँसराइ बढी भएको छ । वैदेशिक रोजगारले गर्दा आर्थिक अवस्था राम्रो भयो । त्यसले राम्रो अवसर शिक्षा, स्वास्थ्य, रोजगार खोज्न थालेपछि बसाइँसराइ भयो’, उनले भने, ‘अनि जनसंख्या वृद्धिदर पनि कमी भयो ।’

रामेछाप र सिन्धुपाल्चोकमा भूकम्पले गर्दा असर गरेर मानिस धेरैले काठमाडौँ बसाइँसराइ गरेका छन् । जनगणनाले सेवा सुविधा अझै केन्द्रित रहेकाले नै हिमाली तथा पहाडी जिल्लाबाट बसाइँसराइ तराईमा भएको देखाएको छ । गुरुङले प्रदेशलाई अधिकार सम्पन्न बनाउने हो भने प्रदेशहरुले गर्नसक्ने विकास आफ्नो जिल्लामा गर्ने र ती जिल्लाको जनसंख्या त्यहीँ रोकिन सक्ने बताए ।

केन्द्रीय विभागका प्रा डा गुरुङका अनुसार जनगणनाले नेपालको जनसांख्यिक वितरणमा व्यापक असन्तुलन देखाएकाले यसको उचित सम्बोधनका लागि तीनै तहका सरकार गम्भीर हुनुपर्छ । सबैभन्दा बढी जनसंख्या क्षय भएको जिल्ला रामेछाप हो । जनगणनाको प्रतिवेदनअनुसार २०६८ सालमा दुई लाख दुई हजार छ सय ४६ जनसंख्या रहेकामा २०७८ मा एक लाख ७० हजार तीन सय दुई मात्र जनसंख्या रहेको छ । रामेछापमा ३२ हजार जनसंख्या घटेको छ ।

रामेछापबाट भूकम्प र खानेपानीको कारणले मानिस बसाइँसराइ गरेको पाइएको छ । यस्तै ताप्लेजुङमा पनि जनसंख्या घटेको छ । विसं २०६८ को जनगणनामा एक लाख २७ हजार चार सय ६१ जनसंख्या रहेको ताप्लेजुङमा अहिले एक लाख २० हजार पाँच सय ९० मात्र जनसंख्या रहेको छ ।

जिल्लाको आठराई त्रिवेणी गाउँपालिकाका अध्यक्ष दिपेन पोमुले हिमाल र पहाडलाई राज्यले हेर्ने दृष्टिकोणमा फरक गर्नुपर्ने बताउँछन् । ‘राज्यले तराईका जिल्लामा जनसंख्याको आधारमा बजेट धेरै विनियोजन गर्दछ र त्यहाँ सेवा सुविधा बढी हुन्छन् तर हिमाली र पहाडी क्षेत्रका जिल्लामा कम बजेट हुन्छ र विकास निर्माण र सेवा सुविधा हामीले उपलब्ध गराउन सक्दैनाँै’, उनले भने, ‘त्यसैले मानिसले सेवा सुविधाका लागि तराईमा बसाइँसराइ गरेका छन् ।’

उनी जनसंख्याका आधारमा नभई भूगोलका आधारमा बजेट विनियोजन हुनुहुर्ने बताउँछन् । पहाडी र हिमाली क्षेत्रमा सरकारले आधारभूत सेवा शिक्षा, स्वास्थ्यजस्ता सुविधा पु¥याए मात्र जनसंख्याको सन्तुलन कायम हुने र नभए झन घट्ने स्थिति हुने उनको भनाइ छ ।

पोमुका अनुसार बसाइँसराइ नहोस् भन्नका लागि आफ्नो पालिकामा बिजुली निःशुल्क र १२ कक्षासम्मको शिक्षा निःशुल्क गर्दा पनि बसाइँसराइ बढिरहेको छ । राष्ट्रिय तथ्याङ्क कार्यलयको जनगणना शाखाका प्रमुख ढुण्डीराज लामिछानेले भौगोलिक क्षेत्रअनुसार हिमाली क्षेत्रको जनसंख्या घटेको बताए । जनगणनाअनुसार नेपालको जनसङ्ख्या १० वर्षमा करिब १० प्रतिशतले बढेको छ । वार्षिक वृद्धिदर भने शून्य दशमलव ९२ प्रतिशतले जनसंख्या वृद्धिदर रहेको छ ।

उनका अनुसार जनगणनामा जनसंख्या वृद्धिदर शून्य दशमलव पाँच प्रतिशत हिमालमा, तीन दशमलव १९ प्रतिशत पहाडमा र १७ दशमलव ३८ प्रतिशत तराईमा वृद्धिदर छ । हिमालमा २०६८ सालमा १७ लाख ८१ हजार जनसंख्या रहेकामा अहिले १७ लाख ७२ हजार जनसंख्या रहेको छ ।

१० वर्षमा नेपालको जनसंख्या २६ लाख ७० हजारले बढ्दा तराईमा मात्र २३ लाख १५ हजारले बढेको छ । पहाडमा दश वर्षमा तीन लाख ६३ हजारले जनसंख्या बढेको छ । प्रा डा गुरुङले मुलुक सङ्घीय संरचनामा गइसकेपछि गाउँगाउँमा सिंहदरबार भने पनि मानिसले त्यस कुराको अनुभूति नगरेकाले बसाइँसराइ गर्ने दर बढेको बताउँछन् । ‘बसोबास गरिरहेको ठाउँमा नै बस्ने वा नयाँ मान्छे त्यस ठाउँमा बसाईं सरेर आउने वातावरण बनाउनु पर्दछ’, प्रा डा गुरुङ भन्छन्, ‘हिमाली र पहाडी क्षेत्रमा मानिसले भविष्य नदेखेपछि तराईतिर झरे जसले गर्दा पहाडी क्षेत्रको जनसंख्या वृद्धिदर ऋणात्मक देखियो ।’

उनी शिक्षा, स्वास्थ्य, रोजगारी, यातायात जस्ता आधारभूत सुविधा पहाडी र हिमाली क्षेत्रमा नै पाउने हो भने तराईबाट पनि मानिस पहाडतिर बसाईं सरेर जाने र पहाडका मानिस पनि उतै अडिने बताउँछन् । ‘सरकारले जनसंख्याको सन्तुलित वितरण गर्ने वातावरण बनाउनु पर्दछ । नत्र आगामी वर्षमा हिमाल र पहाडमा मानिसको संख्या घटेर र तराईमा मानिसको संख्या अधिक बढेर अर्को असन्तुलन सिर्जना हुन सक्छ’, उनी भन्छन् ।