म्याग्दीमा पशु पूर्ण खोप कार्यक्रम



म्याग्दी । म्याग्दीका सबै स्थानीय तहमा पशुमा पूर्ण खोप कार्यक्रम सञ्चालन भएको छ ।

खोपका माध्यमबाट पशुधनको सुरक्षा तथा उत्पादन वृद्धिका लागि भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले जिल्लाका छ वटै पालिकाका किसानले पालेका पशुलाई खोप लगाउने अभियान सञ्चालन भएको हो ।


केन्द्रका प्रमुख जीवनप्रसाद आचार्यले जिल्लाभर एक लाख दश हजार छ सय ३३ गाई, भैँसी, बङ्गुर, बाख्रा, भेडा, कुकुर र चौरीगाईलाई खोप लगाउने लक्ष्य रहेको बताए । बेनी नगरपालिका, अन्नपूर्ण, रघुगङ्गा, मङ्गला, मालिका र धवलागिरि गाउँपालिकामा अभियान सञ्चालन भएको छ ।

“रघुगङ्गा, अन्नपूर्ण, मङ्गला गाउँपालिका र बेनी नगरपालिकामा खोप लगाउने काम सकिएको छ,” आचार्यले भने, “मालिका र धवलागिरिमा खोप अभियान सञ्चालनको तयारीमा छौँ ।”

किसानका पशुफार्म तथा गोठमा पुगेर पशु चौपायाको तथ्याङ्क सकलन, खोपकर्ता नियुक्ती, जनप्रतिनिधि र अगुवा किसानलाई अभिमुखीकरण गरी खोप लगाउन प्राविधिकलाई परिचालन गरिएको हो । पूर्ण खोप अभियानका लागि एक वटा वडामा भूगोल र पशुसङ्ख्याको आधारमा दुईदेखि तीन जनाको दरले प्राविधिक र खोपकर्ता परिचालन गरिएको केन्द्रका सूचना अधिकारी रामकृष्ण सुवेदीले बताए ।

“सबै प्राविधिकलाई तालिम दिएर पूर्ण खोपका लागि परिचालन गरिएको छ”, उनले भने । छ वटा स्थानीय तह रहेको म्याग्दीमा ४५ वटा वडा छन् । बेनी नगरपालिकामा सत्र हजार चार, मङ्गला गाउँपालिकामा १३ हजार ९५, मालिकामा १७ हजार आठ सय ४६, रघुगङ्गामा २५ हजार तीन सय ७५, धवलागिरीमा १५ हजार आठ सय ९१ र अन्नपूर्णमा २१ हजार चार सय २२ पशुलाई खोप लगाउने लक्ष्य छ ।

किसानको फार्म र गोठमा पुगेर पिपिआर, खारेत, भ्यागुते, चरचरे, कलासिकल स्वाइन फिवर र रेविज रोगविरुद्धको खोप निःशुल्क लगाउने व्यवस्था मिलाइएको छ । पशुलाई महामारीजन्य रोगबाट बचाउन खोप प्रभावकारी उपाय हो ।

पशुबाट मानिस र मानिसबाट पशुमा सर्ने जुनोटिक रोगलाई नियन्त्रण गरी जनस्वास्थ्यलाई पार्ने नकारात्मक प्रभावबाट बचाउन र पशुजन्य रोगको उपचार र नियन्त्रण गर्दा लाग्ने समय र खर्चको बचतका लागि पूर्णखोप कार्यक्रम प्रभावकारी बन्ने विज्ञ केन्द्रले जनाएको छ । गण्डकी प्रदेश सरकारले सङ्क्रामक रोग निर्मूल पार्ने योजना अनुसार प्रदेशलाई नै पूर्ण खोपयुक्त बनाउन ११ वटा जिल्लामा अभियान सञ्चालन गरेको छ ।