गलकोट । गलकोट नगरपालिका–११ रिघामा अवस्थित उदय रिघाबुद्ध विहारको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेयले उद्घाटन गरेका छन् । मुख्यमन्त्री पाण्डेले सो गुम्बा पर्यटकीय क्षेत्र भएकाले यसको विकासका लागि प्रदेश सरकारले सक्दो सहयोग गर्ने बताए ।
उनले यस गुम्बाको स्थानीय मिलेर संरक्षण र प्रवर्द्धन गर्नुपर्ने उल्लेख गर्दै प्रदेशको आगामी बजेटमा शिक्षा, स्वास्थ्य, कृषि उत्पादन र बजारिकरणमा जनताले बुझ्ने तरिकाले योजना अगाडि ल्याइने बताए ।
त्यस्तै मुख्यमन्त्री पाण्डेले खाडीमा कमाउन जानेलाई गाउँमै रमाउने कार्यक्रम ल्याउने र लिफ्टिङमार्फत् खानेपानी योजना सञ्चालन गर्नुपर्ने क्षेत्रमा प्रदेश सरकारले निःशुल्क विद्युत्को व्यवस्था गर्ने घोषणासमेत गरे ।
उक्त गुम्बाको सङ्घ सरकार, प्रदेश सरकार, स्थानीय सरकार र वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न देशमा रहेका नेपालीको सहयोगमा संकलित ८० लाख रकमबाट निर्माण गरिएको हो ।
कार्यक्रममा प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दिपेन्द्रबहादुर थापाले रिघालाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नुपर्ने बताए । उक्त कार्यक्रममा भिक्षु महासङ्घका केन्द्रिय सदस्य भान्ते निरांकरले सो उदय रिघाबुद्ध विहार भिक्षुलाई हस्तान्तरण गरेका हुन् ।
गुम्बा निर्माण समितिका अध्यक्ष शेरबहादुर घर्तीको पहलमा १२ वर्षअघि शिलान्यास गरिएको गुम्बा निर्माणले सार्थकता पाएको हो ।