बाह्र दिनदेखि हराएका गुरुङ मृत भेटिए



डुम्रे । तनहुँमा एक जनाको भीरबाट लडेर मृत्यु भएको छ । गत वैशाख १७ गतेदेखि हराइरहेका तनहुँको व्यास नगरपालिका-९ गजौडेका वर्ष ५९ का सुरेशकुमार गुरुङ मृत अवस्थामा भेटिएका हुन् ।

गुरुङको स्थानीय सुदेखोला सात विसे सामुदायिक वनको भीरबाट १११ मिटर तल खस्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक राजकुमार विकले जानकारी दिए । गुरुङ बिहीबार दिउँसो मृत अवस्थामा भेटिएका हुन्  ।


बाह्र दिनअघि सोही सामुदायिक वनमा घाँस काट्न जान्छु भनी हिँडेका गुरुङ घर नआएपछि गण्डकी प्रदेश प्रहरी कार्यालयबाट खटिएको कुकुरसहितको प्राविधिक टोलीले खोज तलास गर्दा पनि फेला पार्न सकेको थिएन । 

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।