बलात्कार पछि हत्या गरी फरार २ जना १६ बर्ष पछि पक्राउ



सुनसरी । १६ वर्षअघि बलात्कारपछि हत्या गरेर फरार भएका दुई अभियुक्त पक्राउ परेका छन् । धरान उपमहानगरपालिका–१२ की २५ वर्षीया ललिता राईलाई बलात्कार पछि हत्या गरेर १६ वर्षदेखि फरार रहेका दुई जना पक्राउ परेका हुन ।

जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा धनकुटा शहिदभुमी गाउँपालिका–१ का ५६ वर्षीय चन्द्रबहादुर राई र ४४ वर्षीय कल्पन राईलाई पक्राउ गरिएको हो । इलाका प्रहरी कार्यालय धरानका डिएसपी नवराज मल्लका अनुसार शहिदभुमी गाउँपालिकाबाट पक्राउ गरी उनीहरुलाई जिल्ला अदालत सुनसरीमा म्याद थपका लागि लगिएको थियो ।


जसअनुसार १० दिनको म्याद थप गरी उनीहरु माथी अनुसन्धान अगाडी बढाइएको मल्लले जानकारी दिए । उनका अनुसार पक्राउ पर्ने बितिक्कै दुवै जनाले आफुले गरेको सो अपराध स्विकार गरेका छन् । २०६४ मंसिर २३ गते धरानको बलभद्रेश्वर अरुणोदय धर्मशालामा लगि ललितालाई पालैपालो बलात्कार गरेको तर ललिता चिच्याउन थाले पछि पोल खुल्ने डरले हत्या गरेर फरार भएको दुवैजनाले स्विकार गरेको प्रहरीले जनाएको छ ।