बन्यो नमूना बस्ती, पुगेन आधारभूत सुविधा



कालिकोट । कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिका–४ स्थित सुन्दरखालमा नमूना बस्ती बने पनि त्यहाँ आधारभूत सुविधा भने पुगेको छैन । नमूना बस्ती बनेको दुई वर्ष बिते पनि खानेपानी, विद्यालय, विद्युुत् र बाटोलगायत आवश्यकताको अभाव भएको हो ।

वि.सं २०७७ साउन १३ गते र भदौ ४ गते आएको बाढीपहिराले नरहरिनाथ–४ खाती रुप्सामा आएको बाढीपहिरो पीडितका लागि कर्णाली प्रदेश सरकारले सुन्दरखालमा नमूना बस्ती निर्माण गरेको थियो ।


नमूना बस्तीमा एक सय ३४ घरपरिवारको बसोबास रहेको तर आधारभूत आवश्यकता पूरा नभएको बस्ती विकास समितिका पूर्वअध्यक्ष मनिष देउवाले बताए । ‘विद्यालय बनेको छ । विद्यालयमा भवन नभएर जीर्ण अवस्था छ ।

खानेपानी, विद्युत्, बाटोसमेत बनेको छैन’, उनले भने, ‘बस्तीमा सरकारी अनुदानबाट घर मात्र बनेका छन् । अन्य कुनै सुविधा पाएका छैनन् ।’

सुन्दरखाल नमूना बस्ती अछामको रामारोशन ताल पुग्नका पाँच किलोमिटर मात्र रहेको सडक पुर्याउन सकिएमा रारादेखि रोमारोशनसम्म पर्यटकीय मार्ग बन्ने र नमूना बस्तीलाई होमस्टे (घरबास) का रुपमा प्रयोग गर्न सकिने पूर्वअध्यक्ष देउवाले बताए ।

गाउँमा रहेको दीपेन्द्र नेपाल राष्ट्रिय माध्यमिक विद्यालय नमूनामा बस्तीमा सारिएको विद्यालयमा टिनले बारेर अध्ययन गराउने गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानबहादुर सहकारीले बताए । ‘अहिले एउटा चारकोठे पक्की बन्न लागेको छ’, उनले भने, ‘विद्यालयलाई त्यति मात्रै विद्यार्थीलाई अध्ययन गराउन सक्ने अवस्था छैन ।’

नमूना बस्तीमा पुग्नका लागि राम्रो गोरेटो बाटो पनि नभएको स्थानीय रत्नबहादुर सहकारीले बताए । नमूना बस्तीमा दुई सय ४० घर बन्नुपर्नेमा अझै ९७ घर बन्न बाँकी रहेको वडाध्यक्ष नन्दराम सहकारीले बताए । ‘विद्यालय भवन, खानेपानीलगायत समस्या रहेका छन्’, उनले भने, ‘नमूना बस्ती बनाइएको भए पनि आधारभूत आवश्यकता पूरा हुन सकेको छैन ।’

नमूना बस्ती बनाउनका लागि अहिले स्थानीय, प्रदेश र सङ्घीय सरकारको ध्यान जान आवश्यक रहेको वडाध्यक्ष सहकारीले जानकारी दिए । ‘नागरिकसँग सरकार रहेका अनुभूति दिलाउनका लागि सबै तहका सरकारले ध्यान दिन आवश्यक रहेको छ’, उनले भने, ‘यसका लागि सबै तहका सरकारले ध्यान दिन आवश्यक छ ।’

बस्तीभन्दा टाढा भएका कारणले आधारभूत स्वास्थ्य चौकीको स्थापना गर्नका लागि आवश्यक रहेको गाउँपालिका अध्यक्ष नगेन्द्र विष्टले बताए । ‘त्यहाँ आधारभूत स्वास्थ्य चौकी स्थापनाका लागि तयारी थालेका छौँ’, उनले भने, ‘त्यसका लागि तयारी भइरहेको छ ।’