प्रभावकारी बन्दै कृषि बीमा कार्यक्रम



काठमाडौं । कृषि बीमा कार्यक्रमले पशुपालन तथा बालीमा हुने नोक्सानीको जोखिम कम हुँदै गएको छ ।

कृषि तथा पशुपक्षी विकासका लागि सञ्चालित बीमा कार्यक्रमबाट लाखौँको बीमालेख जारी भइ कृषक लाभान्वित भएको पाइएको हो । कृषक लाभान्वित भएसँगै कार्यक्रमको प्रभावकारिता विस्तार हुँदै गएको देखिएको छ ।


कृषि तथा पशुपक्षी विकास मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्कानुसार चालु आर्थिक वर्षको चैत मसान्तसम्म उक्त कार्यक्रमअन्तर्गत सरकारले करिब एक अर्ब १८ करोड २६ लाख अनुदान प्राप्त गरेका कृषकले आव २०७८/७९ को सोही अवधिमा एक अर्ब १७ करोड ४३ लाख प्राप्त गरेका हुन् ।

मन्त्रालयका कृषि प्रसार अधिकृत आशिष श्रेष्ठका अनुसार गत वर्षको तुलनामा यस वर्ष करिब ८३ लाख पशुधन र बालीधनमा भएको जोखिमका कारण बीमाका क्षेत्रमा अनुदान वृद्धि भई किसानले प्राप्त गरेको राहतबाट उनीहरू लाभान्वित भएका हुन् । बढीभन्दा बढी व्यक्तिबाट प्रिमियम जम्मा गरी केहीलाई जोखिममा परेको बेला उल्लेखित सहयोग प्रदान गर्ने कार्य बीमा हो ।

सरकारले विसं २०६९ माघ १ गतेदेखि लागू गरेको कृषि बीमा निर्जीवन बीमाअन्तर्गतको कार्यक्रम हो । जीवन बीमाअन्तर्गत बीमाको अवधि सकिएपछि बीमा शुल्क जम्मा गरेको कुल रकममा बोनस थप गरी रकम फिर्ता हुन्छ भने कृषि बीमामा रकम फिर्ता हुँदैन ।

कृषि उपज, फलफूल तथा पशुपक्षीका क्षेत्रमा हुँदै आएको बीमा कार्यक्रममा अहिले टिमुर मिन्थाजस्ता केही जडीबुटीका क्षेत्रमा पनि प्रवद्र्धन भई बीमा हुन थालेको छ । किसानलाई अतिवृष्टि, अनावृष्टि, खडेरीलगायत मौसमका कारण उत्पादनमा हुने क्षतिबाट राहत उपलब्ध गराउन कृषि बीमामार्फत विभिन्न निर्जीवन बीमा कम्पनीको समन्वयमा देशैभर सो कार्यक्रम सञ्चालन गरी किसानलाई समेटिएको छ ।

ती कम्पनीमा किसानले बीमा गरेपछि वर्ष दिनलाई त्यसले जोखिम वहन गर्दछ । किसानले गरेको बीमा रकमको ८० प्रतिशत सरकारले अनुदान दिने गरेको छ । किसानले खर्च गर्ने २० प्रतिशत रकममा पनि कतिपय स्थानीय तहले सहुलियत दिने गरेका छन् ।