प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता आजदेखि सुरु



काठमाडौं। प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिताको दोस्रो संस्करण आजदेखि सुरु भएको छ ।

त्रिभुवन आर्मी अफिसर्स क्लब र दशरथ रङ्गशालाको टेनिस कोर्टमा सुरु भएको उक्त प्रतियोगिताको बलाधिकृतरथी सरोजप्रताप राणाले निर्णायकलाई बल हस्तान्तरण गर्दै शुभारम्भ गरे। उद्घाटन खेल काठमाडौं जिल्ला टेनिस एशोसिएसनका मनोज श्रेष्ठ र याक एण्ड यति क्लबका आशीष सिग्देलबीच भयो ।


आगामी जेठ ५ गतेसम्म सञ्चालन हुने प्रतियोगिता खुलातर्फ पुरुष र महिला एकल तथा मिक्स युगल विधामा हुनेछ । भेट्रानतर्फ ३५ वर्ष, ४५ वर्ष र ५५ वर्षमाथि एकल र युगल तथा ६५ र ७० वर्षमाथि एक विधामा खेल सञ्चालन भइरहेको छ ।

विभिन्न तेह्र खेल विधामा दुई सय ५५ प्रतिस्पर्धा हुने प्रतियोगितामा १४ टेनिस क्लब र विभागीयसहित एक सय ७७ खेलाडीको सहभागिता छ । मुलुकको टेनिस खेलको विकासमा सहयोग पुर्‍याउने हेतुले सेनाले विसं २०७८ देखि यस प्रतियोगिता सञ्चालनमा ल्याएको हो ।

सो अवसरमा सैन्यकार्य महानिर्देशक उपरथी बाबुराम श्रेष्ठले सैनिक नागरिकसम्बन्ध विस्तारको कडीकारुपमा रहेको प्रतियोगिता मुलुकको खेलकूदको विकासमा योगदान पुर्‍याउन सकियोस् भन्नका खातिर आयोजना गरिएको बताए। सेनाले प्रतियोगितामार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी पहिचान र उत्कृष्ट खेलाडी उत्पादन गर्न सकियोस् भन्ने लक्ष्य राखेको छ ।

प्रतियोगितामा विजयी हुने क्लबले रनिङ ट्रफी प्राप्त गर्नेछ । प्रतियोगितामा पुरुष र महिला सिङ्गल र समूहगत खुला विधातर्फ प्रथम, द्वितीय र तृतीय हुने टोलीलाई क्रमश: रु ५० हजार, रु २५ हजार र रु १५ हजार प्रदान गरिने छ ।