प्रधानमन्त्रीज्यू, भ्रष्टाचार छानबिनको फिल्म हेर्न हामी टिकट काटेर बसेका छौँ : एमाले



काठमाडौं । नेकपा (एमाले) का प्रमुख सचेतक पदम गिरीले आफूहरूले टिकट काटेर बसेको भन्दै ‘फिल्म’ देखाउन प्रधानमन्त्रीलाई माग गरेका छन् ।

आज (आइतबार) को प्रतिनिधिसभा बैठकममा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नक्कली भुटानी शरणार्थी प्रकरणमा भ्रष्टाचारको विषयमा ‘ट्रेलर’ मात्र देखाइएको र फिल्म देखाउने भनेको भन्दै उनले एमाले टिकट काटेर फिल्म हेर्न तयार रहेको बताए ।


गिरीले वाइडबडी घोटलाकाण्ड, बाँसबारीको जग्गा, बालमन्दिरको जग्गा, यती, ओम्नीलगायत लडाकु शिविरका काण्ड सबै छानबिन गर्न समेत माग गरे । यसमा एमालेले साथ दिने पनि उनले बताए ।

‘हामी भन्न चाहन्छौँ– सबै भ्रष्टाचार, अनियमितता छानबिनको दायरामा ल्याउनु पर्छ र सुशासन कायम गर्नुपर्छ’, उनले भने, ‘प्रधानमन्त्रीले भन्दै हिँड्नु भएको छ– यो ट्रेलर मात्र हो । फिल्म आउनै बाँकी छ भन्दै हिँड्नु भएको छ । हामी फिल्म हेर्न आतुर छौँ । टिकट काटेर बसेका छौँ, फिल्म देखाउनुहोस् ।’