पूर्वराष्ट्रपतिद्वारा मदन भण्डारीको सालिकमा माल्यार्पण



काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारीको सालिकमा माल्यार्पण गरेकी छिन् । मदन भण्डारी–जीवराज आश्रित स्मृति दिवसका अवसरमा कोटेश्वरस्थित मदन बाटिकामा रहेको उहाँको सालिकमा पूर्व राष्ट्रपति भण्डारीले माल्यार्पण गरेकी हुन् ।

यसै गरी पूर्व राष्ट्रपति भण्डारीले तीनकुने स्थित मदन स्मृति उद्यानमा वृक्षारोपणसमेत गरेकी छिन् । उद्यानमा उनले स्वामीको बिरुवा रोपेकी छिन् । पूर्व राष्ट्रपति भण्डारीसँगै एमाले स्थायी कमिटी सदस्य अग्नि खरेलले समेत स्वामीको बिरुवा रोपेकी छिन् ।


यसै गरी पूर्व राष्ट्रपति भण्डारीले महादेवस्थान नजिक रहेको मदन भण्डारी स्मृति सामुदायिक पुस्तकालयको समेत आज अवलोकन गरेकी छिन् । वि.सं २०५० जेठ ३ गते चितवनको दास ढुङ्गामा जिप दुर्घटना परी तत्कालीन एमाले महासचिव भण्डारी र सङ्गठन विभाग प्रमुख आश्रितको निधन भएको थियो ।

एमाले र नेकपा (एकीकृत समाजवादी)ले आज विभिन्न कार्यक्रम गरी ३०औँ मदन–आश्रित स्मृति दिवस मनाउँदै छन् ।