पाल्पा । रामपुर नगरपालिका–९ स्थित मधुकोटमा आगलागी हुँदा चार घर नष्ट भएको छ । आज दिउँसो करिब ३ बजेको समयमा गाउँदेखि तल रहेको जङ्गलमा लागेको आगो सल्केर घरमा क्षति गरेको छ ।
मधुकोटका दलबहादुर साठीघरे, ऐतराम साठीघरे, लोकबहादुर साठीघरेको घर पूर्णरुपमा जलेर नष्ट भएको छ भने भिमिसरा साठीघरेको घर आंशिकरूपमा जलेको छ । आगलागीबाट मानवीय क्षति भने भएको छैन ।
सात बाख्रा, एक बङ्गुर मरेको स्थानीयवासीले बताएका छन् । घर जलेर विस्थापित परिवारलाई अहिले गाउँमै रहेको सिद्ध प्राथमिक विद्यालयमा राखिएको वडाध्यक्ष डिलबहादुर रानाले जानकारी दिए । स्थानीय, प्रहरी र नेपाली सेनाको टोली आगो नियन्त्रण गर्न जुटेका छन् । चारैतिर जङ्गल र बीचमा बस्ती भएकाले आगो अन्यत्र पनि फैलने जोखिम छ ।
आगो नियन्त्रणमा ल्याउने कोसिस भइरहेको छ । रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले स्थलगतरूपमा घटनाको अनुगमन गर्नुहुँदै पीडित परिवारलाई नगरपालिका कार्यालयबाट आवश्यक सहयोग गर्ने बताए। जङ्गलमा आगो कसले लगायो भन्नेबारे अनुसन्धान भइरहेको छ ।
आगलागीबाट ७६ वर्षीय दलबहादुर साठीघरे र उनकी बुहारी लक्ष्मी साठीघरे घाइते भएका छन् । घाइतेलाई रामपुर नगरपालिकाले रामपुर अस्पतालसम्म ल्याएर उपचार गराइरहेको छ ।
आगलागीबाट के कति क्षति भयो त्यसको विवरण सङ्कलन भइरहेकाले आउन बाँकी छ ।